राजपा निर्वाचनमा सहभागी हुने

0
Shares

बीपी साह, काठमाडौं
अन्ततः राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय निकायको तेस्रो चरणको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठक र अध्यक्ष मण्डलको बैठकले अब हुने सबै निर्वाचनमा भाग लिने निर्णय गरेको हो।

छाता चुनाव चिह्नको माग गर्दै आएको राजपाले साइकल चुनाव चिह्न लिएर निर्वाचनमा जाने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महतोले भन्नुभयो– ‘चुनावलाई आन्दोलनका रूपमा उपयोग गर्न हामी निर्वाचनमा सहभागी हुँदै छौं। हाम्रा अधिकांश माग पूरा भएको छ। संविधान संशोधनको माग हामी निरन्तर राख्नेछौं। तर हामी निर्वाचनमा पनि भाग लिनेछौं।’

महतोले निर्वाचनमा जाँदा सबै नेता तथा कार्यकर्ताहरूले कालोपट्टी बाँधेर प्रचारप्रसारमा लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कालोपट्टीको अर्थ हामी अहिले पनि आन्दोलनमै छौं भन्नु हो।’ यता चुनाव चिह्न साइकल लिएर निर्वाचनमा सहभागी हुने बताउँदै महतोले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाएपछि चुनाव चिह्नको अन्तिम टुंगो लाग्ने जानकारी दिनुभयो।

बिहीबार पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी संयोजक महन्थ ठाकुरले सरकारले केही माग सम्बोधन गरेको र राजनीतिक परिस्थिति पनि फेरिएकाले चुनावमा जाने निर्णय गरेको बताउनुभएको थियो।

संविधान संशोधन विधेयक असफल भएपछि भावी रणनीति तय गर्न राजपाले बोलाएको बैठकको निर्णयमा ‘एमालेले संविधान संशोधन विपक्षमा रही आफ्नो नश्लीय चरित्र, अहंकारवादी सोच, राष्ट्रिय एकता तथा मधेस विरोधी चरित्रलाई अझ पुष्टि गरेको छ’ उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमै राजपाले चुनाव तयारीका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रमअनुसार भदौ ९ गते सबै जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्य तथा पदाधिकारीको संयुक्त बैठक बसेर पर्यवेक्षक टोली बनाउने भएको छ। भदौ १० गते उम्मेदवारको नाम संकलन गर्ने, ११ गते उम्मेदवारका लागि आएका नाम स्थानीयस्तरमै सहमति गर्न प्रयास गर्ने, १२ गते सहमति नभएका विषय जिल्लास्तरमा टुंग्याउने र १३ गते केन्द्रीय अध्यक्ष मण्डललाई उम्मेदवार चयनको प्रतिवेदन बुझाउने रहेका छन्।
त्यस्तै राजपाले निर्वाचनका लागि २ नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सिराहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालावती राना थारु, पर्सामा विजय गुप्ता र सप्तरीमा नरसिंह चौधरी रहेका छन्।

राजपाको केन्द्रीय नेतृत्वले निर्वाचनमा सहभागी हुने निर्णय गरे पनि कतिपय स्थानीय नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। राजपाका महासचिव राजीव झाले चुनावमा जाने निर्णयबाट सबै जना सन्तुष्ट नभए पनि चुनाव बाध्यता रहेको बताउनुभयो।