मेसिन खरिद गर्दा अनियमिकता गरेको भन्दै छानबिन शुरु

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमिता भएको भन्दै छानबिन अघि बढाएको छ। डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले सबै विवरण पठाउन निर्देशन दिएको हो।

श्रेष्ठ एन्ड अमृत ट्रेर्डस कम्पनीले सप्लाई गरेको रिको ब्राण्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाख बराबरको कायम गरी बिल पेश गरेपछि अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले असार २६ मा परेको उजुरीलाई छानबिनका लागि भन्दै खरिद गरिएको गरी,मेसिनको अवस्था तथा त्यसको सञ्चालन खर्चसमेत सबै विवरण उल्लेख गरी पठाउन निर्देशन दिएको छ। अख्तियारका अनुसार २०७३ साल चैतमा पनि प्रिन्टिङ टोनर, मसी तथा कागज सप्लाइमा अत्याधिक खर्च बढेको तथा सप्लाई गर्ने कम्पनीबाट टेन्डर नै नगरी कोटेसनका आधारमा सप्लाई गरेको भन्दै अख्तियारले सचेतसमेत गराएको थियो।

हाल विभागमा बलभद्र गिरी महानिर्देशकका रूपमा कार्यरत रहनुभएको छ। अख्तियारले गिरी र भण्डारण अधिकृत दीपक पोखरेलको नाममा समेत सो विषयमा लिखित जवाफ पेश गर्न सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो। अख्तियारको उक्त ताकेतापछि मन्त्रालयले शाखा अधिकृत सुरेशबाबु घिमिरेको नेतृत्वमा छानविन गर्न टोलिसमेत बनाएको छ। रिको ब्राण्डको मेसिन खरिद गरेपछि नेपालमै त्यसको तालिम लिन सकिने व्यवस्था भए पनि त्यहाँका दुई कर्मचारीलाई तालिमका लागि भन्दै विभागले सिंगापुरसमेत पठाएको थियो।

अहिलेसम्म सो मेसिन सञ्चालनमा ल्याइएको छैन। अख्तियारले प्रश्न उठाएपछि मेसिन नै फिर्ता गर्ने कि भन्ने मनस्थितिमा मुद्रण विभागका महानिर्देशक गिरी र भण्डार विभागका अधिकृत पोखरेल पुगेको विभाग स्रोतले जानकारी दिएको छ।

भण्डारण अधिकृत पोखरेलले विभागको मापदण्डअनुसारको मेसिन नआएकाले सञ्चालनमा नल्याएको बताउनुभयो। अधिकृत पोखरेलले मेसिन नै अहिलेसम्म आएको छैन। मेसिन दिने कम्पनीले २ महिना समय माग गरेकाले समय दिएको र विभाग कै मान्छेले अख्यिारमा उजुरी हालेर चरित्र हत्या गर्न खोजेको बताउनुभयो।

उहाँका अनुसार ए थ्रि साइजको २ हजार सिट पेपर अट्ने ट्रे हुनपर्ने मापदण्ड थियो तर त्यो पूरा भएन कम्पनीले उक्त सर्त पूरा गरेपछि मात्रै विभागले मेसिन सञ्चालनमा ल्याउने उहाँको जवाफ थियो। साथै मुद्रण विभागलाई आवश्यक पर्ने कागज मसि टोनर आदि खरिद गरिँदासमेत आवश्यक प्रकृया पूरा नगरी ब्यापारीसंगको मिलेमतोमा कागजी प्रकृया मिलाइ लिने गरिएको समेत खुलेको छ।

लामो समयदेखि विभागमा स्वस्तिक इन्टरप्राइजेज र चण्डीको इन्टरप्राइजेजबाट कागज खरिद हुँदै आएको छ। सो कागज खरिदमा पनि अनियमितता भएको भन्दै अख्तियारले प्रश्न उठाएको छ।