फेरि मनसुन सक्रिय बन्यो चितवनमा त्रास फैलियो

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
भारतको झारखण्ड र बंगालको खाडी आसपासमा विकास भएको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली)को प्रभाव मुलुकभर परेको छ। चितवनसहित मुलुकको मध्य क्षेत्रमा बिहीबार मध्यान्ह्पछि भारी वर्षा भएको छ।
चितवनको माडी क्षेत्रको गोविन्द वस्ती आसपासको क्षेत्रमा भारी वर्षा भएपछि नदी र जलाधार क्षेत्रको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई लक्षित गर्दै मौसम विभागको बाढी पूर्वानुमान शाखाले ‘मास एसएमएस’ पठाएको छ। बिहीबार १ बजेपछि १ घण्टाको अवधिमा गोविन्द वस्ती आसपासको क्षेत्रमा ८४ मिलिमिटरको हाराहारीमा वर्षा भएको थियो।

मुलुकको पूर्वी र मध्य क्षेत्रका धेरै भू–भागमा बिहीबार राति र शुक्रबारसमेत मध्यम र केही ठाउँमा भारी वर्षा दोहोरिने भएकाले नदी तटीय र जलाधार क्षेत्र आसपासका वस्तीमा उच्च सर्तकता अपनाउन शाखाले आग्रह गरेको छ। भारतीय भू–भागबाट वायुमण्डलको माथिल्लो भेग र सतहबाट समेत भित्रिएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर यस्तो प्रभाव परेको मौसमविद्हरूले जनाएका छन्।

यस्तो प्रभाव शनिबारसम्म जारी रहने र धेरै स्थानमा मध्यम र केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो। ‘देशैभरि हल्का र मध्यम स्तरको वर्षा हुँदै छ, केही ठाउँमा भारी वर्षासमेत हुने मौसमी गतिविधि विकास भएको छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। नवलपरासी, रुपन्देही, भैरहवा, दाङलगायतका स्थानमा बिहीबार साँझ केही बढी वर्षा हुने र भोलि शुक्रबार मुलुकको पूर्व र मध्य क्षेत्रमा पनि केही बढी वर्षा हुने रिमालले जानकारी दिनुभयो।

शुक्रबार साँझपछि मनसुनको प्रभाव पश्चिमका धेरै भू–भागमा समेत पर्ने उहाँले बताउनुभयो। तर साउन अन्तिम साताको जस्तो सक्रिय र निरन्तर भारी वर्षाको संभावना दोहोरिने भने होइन’ –रिमालले भन्नुभयो।