नेपाल समूह उपविजेता बन्यो


 

नेपाल समाचारपत्र
काठमाडौं
भारतसँग हारेपछि आयोजक नेपाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यु १५ च्याम्पियनसिपको समूह बी मा उपविजेता बनेको छ।

भारतले बुधबार समूहको अन्तिम खेलमा नेपाललाई २–१ ले हराएको हो। यो हारले नेपालले सेमिफाइनलमा समूह ए विजेता बंगलादेशसँग सामना गर्ने तय भयो। भारतले भने समूह बी उपविजेता भुटानविरुद्ध खेल्नेछ। दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछन्।

भारतले खेलमा अग्रता लिएको थियो। भारतीय कप्तान विक्रम प्रताप सिंहले खेलको २७औं मिनेटमा गोल गरेर नेपाललाई १–० ले पछि पारेका थिए। ४१औं मिनेटमा नेपालले पेनाल्टीमार्फत् बराबरी गोल फर्काएको थियो। शिसिर लेखीलाई मोइराङथेम ठोइबा सिंहले डिबक्समा लडाएपछि नेपाललाई पेनाल्टीको मौका पाएको थियो। जसमा कप्तान रोशन रानामगरले गोल गरे।

पहिलो पटक रोशन असफल भएका थिए। उनको पेनाल्टी प्रहारलाई भारतीय गोलकिपर लालबियाखुलुआ जोङटेले रोकेका थिए। उनले पन्च गरेर रिबाउन्ड भएको बललाई रोशनले फेरि प्रहार गर्दै गोल गरेका थिए। रविबहादुर रानाले ६४औं मिनेटमा गोल गरेपछि नेपालको समूह विजेता हुने मौका गुमेको थियो।
नेपालका प्रशिक्षक सुनीलकुमार श्रेष्ठ नेपाली टोलीको प्रदर्शनसँग सन्तुष्टि नभएको प्रतिक्रिया दिए। उनले भने– ‘यो मेरो अपेक्षाभन्दा माथिको खेल बन्यो। अन्तिम १५ मिनेट मात्रै मेरा केटाहरूले बल पोजेसन राख्न सफल भए। हामीले बंगलादेशविरुद्ध सेमिफाइनल खेलमा धेरै क्षेत्रमा प्रगति गर्नुपर्छ। सेमि कडा प्रतिस्पर्धा हुन गइरहेको छ।’