मकवानपुरका बाढीपीडित समस्यामा


 

रोशन पराजुली, हेटौंडा
अविरल वर्षाका कारण मकवानपुरको मनहरी गाउँपालिकामा मानवीय क्षति नभए पनि धेरै नागरिक पीडामा परेका छन्। साउन २७ गते शुरू भएको वर्षाका कारण गाउँपालिकाका विभिन्न वडामा गरी ३ सयभन्दा बढी घर पूर्णरूपमा क्षति भएको पाइएको छ।

वर्षाको पाँचौं दिन जिल्ला बाल कल्याण समिति मकवानपुरको अगुवाइमा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक सुशीलराज गिरी, एस्थर बेन्जामिन स्मृति संस्था जिल्ला कार्यक्रम संयोजक केदार आचार्य र सहयोगी हातहरूको समूह (सहास) नेपालका परियोजना अधिकृत प्रताप श्रेष्ठको संयुक्त टोलीले प्रभावित मनहरी गाउँपालिकाको रमौली र प्रतापपुरमा स्थलगत अनुगमन गरे।
अनुगमनका क्रममा पूर्णक्षति भएका घरका मानिस विद्यालय, मन्दिर तथा सार्वजनिक भवनमा र केही आफन्तकोमा आश्रय लिएर बसेको देखिएको अनुगमनमा सहभागी जिल्ला बाल कल्याण समितिका सूचना व्यवस्थापन अधिकृत रवि हमालले बताए। गाउँपालिकामा बाढी–पहिरोका कारण हजारौं संख्यामा कुखुरा मरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार वर्षा भइरहने हो भने गाउँपालिकामा ३ सयभन्दा बढी घर जोखिममा पर्न सक्छन्।

पर्सा वन्यजन्तु आरक्ष क्षेत्र संरक्षणका लागि वन विस्तार गर्नुपर्ने भएपछि सरकारले आरक्ष क्षेत्रमा रहेका झण्डै ३ सय ६३ घरलाई मनहरी गाउँपालिकाको वडा नं. ६ स्थित रमौली र प्रतापपुरमा सारेको थियो। जुन बस्तीलाई नयाँ टोल भन्ने गरिएको छ।

बाढीले त्यस क्षेत्रका १२ घर अस्तित्वसमेत नरहने गरी पूर्णरूपमा क्षतिभएको छ भने सयभन्दा बढी घर प्रत्यक्ष वा परोक्षरूपमा बाढीबाट प्रभावित छन्। पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगल छेउबाट बगिरहेको नदीमा पानीको बहाव बढेलगत्तै उत्तरतर्फ रहेको उब्जाउ जमिनपट्टि आएको थियो। त्यसै क्षेत्रका १२ वटा घर पूर्णरूपमा नष्ट भएको हो। पानी एक्कासी बस्तीमा छिरेपछि अधिकांश मानिस आफूले लगाएको एकसरो लुगामा भाग्न बाध्य भएको स्थानीय बताउँछन्।

प्रभावित मानिस स्थानीय विद्यालयमा ३ दिन बसेपछि मात्र आफ्नो घर फर्केका थिए। धेरैजसो आंशिक क्षति भएका घरहरूको जगको माटो बाढीले बगाएको छ। भान्छाको चुलो आँगनमा ल्याएर खाना बनाउन लागेको दृश्य अनुगमनका क्रममा आफूहरूले देखेको बाल कल्याण समाजका कार्यक्रम संयोजक गिरीले बताए। स्थानीयका अनुसार बाढीका कारण वातावरण प्रदूषण भएर अधिकांश बालबालिका, महिला तथा वृद्धवृद्धामा झाडापखाला, रुघाखोकीजस्ता रोग देखापर्न थालेको छ।

त्यस क्षेत्रमा बालबालिका ५० जना बढी छन्। पीडितहरू आफ्ना सबै सम्पत्ति बगेकाले बिचल्ली भएको गुनासो गर्छन्। ‘घरमा खाने, सुत्ने कुराहरू केही छैन’, एक बाढीपीडितले भने– ‘लगाउने लुगा पनि बगायो, अब के लगाउने होला?’ वर्षाका कारण पुगेको क्षतिको अवस्थाबारे सूचना संकलनमा आफूहरू लागिपरेको गाउँपालिकाले जनाएको छ।