बाढीपीडितलाई जुडो र सीडब्ल्यूसीएनको सहयोग


 

काठमाडौं, (नेस)
नेपाल जुडो संघ र बाल वातावरण केन्द्र नेपाल (सीडब्ल्यूसीएन) ले बाराका बाढीपीडितलाई अत्यवश्यक सामग्री खरिद गर्न १ लाख १० हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। जुडो संघको पहलमा जापानमा रहेको नेपालीहरूको संस्था ज्वाइन ह्यान्ड्स नेपालले संकलन गरेको रकम शहीद मुखलाल स्मृति प्रतिष्ठानमार्फत् पीडितलाई सामग्री खरिद गर्न प्रदान गरिएको हो।

जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र सीडब्ल्यूसीएनका अध्यक्षसमेत रहेका जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई सोमबार रकम हस्तान्तरण गरे।

प्रतिष्ठानले सो रकमबाट त्रिपाल १ सय २० थान, चाउचाउ २ सय ५० बाकस, ओडोमस २ सय २५ थान, पीयूष र जीवन जल १ सय २५ थान तथा साबुन १ सय २५ थान खरिद गरी पीडितलाई उपलब्ध गराउनुपर्नेछ। ढुवानी खर्च महँगो हुने भएको हुँदा सामग्री खरिद नगरी रकम उपलब्ध गराइएको महासचिव श्रेष्ठले जानकारी गराए।