दुई तिहाइ नपुगेपछि संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत


नेपाल समाचारपत्र, काठमाडौ ।

व्यवस्थापिका संसदमा पेस गरिएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७४ दुई तिहाइ मत नपुगेपछि अस्वीकृत भएको छ।

तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक स्वीकृत अथवा अस्वीकृत जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो ।

केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भयो तर, पास गर्न आवश्यक दुई तिहाई पुग्न सकेन ।
मतदानका समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ ।

मतदान सुरु हुनु अघि नै ५ सांसद भएको मालेले भने प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिस्कार गरेको थियो ।

संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् ।

संशोधन विधेयकको पक्षमा खसेको मत प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएको भन्दै कम हो । त्यसबेला ५५८ अर्थात अहिले भन्दा ५ सांसद बढी उपस्थित थिए र देउवाले ३८८ मत पाएका थिए ।तर, संशोधनको पक्षमा देउवाले पाएको भन्दा ४१ मत कम हो ।