भाइरल ज्वरोबाट दुई नाबालकको मृत्यु

0
Shares

जाजरकोट, ५ भदौ । वारेकोट गाउँपालिका–३ मा भाइरल ज्वरो र टाइफाइडबाट दुई नाबालकको मृत्यु भएको छ ।

स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौ महिनाका छोरा मानबहादुरको आज मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँमा अहिले भाइरल ज्वरोबाट सयौँ नागरिक बिरामी भएका छन् । स्वास्थ्य संस्था लिम्साभन्दा टाढा रहेका कारण स्थानीयवासीले समयमै उपचार नपाएको शाहीले बताउनुभयो ।

“बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी छन्, बिरामीलाई पाँच घण्टासम्म बोकेर अस्पतालसम्म लैजानुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।

यस्तै त्रिवेणी नलगाड–८ हल्चौरमा समेत भाइरल ज्वरोका कारण सयौँ बासिन्दा बिरामी परेका पञ्च भयार माध्यमिक विद्यालयका शिक्षिका नन्दा शाही केसीले जानकारी दिनुभयो । तीन घण्टा लगाएर रुकुमको आठविसकोट नगरपालिकाको राडीस्थित मेडिकलमा लगेर उपचार गर्नु परिरहेको उहाँले बताउनुभयो ।

“घरका सबै बिरामी छन्, पशुचौपायलाई घाँस, पानी दिन समेत समस्या भएको छ,” उहाँले भन्नुभयो । रासस