बर्केना भैसी संरक्षण कार्यक्रम प्रभावकारी वन्दै

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।
मासुका लागि स्थानीय जातका भैसीको प्रयोग वढेपछि जिल्लामा भैसीको संरक्षणका लागि कार्यक्रम सुरु भएको छ । विगत केही वर्ष यतादेखि भेैसीहरु मासुमा प्रयोग हुन थालेको र लोप हुन थालेका कारण यस्तो अवस्था आउन नदिन बर्केना भैसी संरक्षण गर्ने उद्देश्यले पाल्पाको रामपुरमा गत वर्षदेखि बर्केना भैंसी संरक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

यो कार्यक्रम पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालयबाट स्वीकृतमा जिल्ला पशु सेवा कार्यालय पाल्पाको मातहतमा सञ्चालन आएको छ । जिल्लामा पहिलो पटक सञ्चालनमा आएको कार्यक्रमप्रति कृषकहरुको आकर्षण बढ्दै गएको छ । बर्केना भैंसी लोप हुँदै गइरहेको अवस्थामा कार्यक्रम सञ्चालनसँगै कृषकहरुले बर्केना भैंसी संरक्षणमा जोड दिन थालेका छन ।
पशु सेवा कार्यालय पाल्पाले हाल सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थासँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष पहिलो चरणमा कार्यक्रम सञ्चालनको लागि सहकारीमा आवद्ध २५ जना कृषकलाई छनौट गरिएको थियो । कृषकको आकर्षण बढ्दै गएपछि यसवर्ष पुनःदोस्रो चरणको रुपमा सीताकुण्ड दुग्ध सहकारी मार्फत सहकारीका ८ जना कृषकलाई छनौट गरेर कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशु सेवा कार्यालय पाल्पाका पशु चिकित्सक डाक्टर उत्तम आचार्यले जानकारी दिए ।

बर्केना भैसी संरक्षण कार्यक्रममा छनौट कृषकलाई प्रतिव्यक्ति २५ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । डाक्टर आचार्यले कृषकले उत्पादन दिँदासम्म भैसी पाल्ने र उत्पादन दिन छाडेपछि बर्केनाका रुपमा विक्री गर्ने हुँदा जिल्लामै बर्केना भैसीको संख्या न्यून भएका बखत संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको बताए । बकेर्ना भैसी संरक्षण कार्यक्रम अन्तर्गत छनौटमा परेका एक कृषकले कम्ति मा पनि दुई वटा बर्केना भैसी अनिवार्य रुपमा पाल्नुपर्ने नियम छ । कार्यक्रम सञ्चालनमा आएसंगै कृषकले दुईदेखि पाँच वटासम्म बर्केना भैसी पाल्दै आएका छन । बर्केना भैसी पाल्ने कृषकलाई अनुदान रकमको साथमा गोठ सुधार, पशु आहारा, औषधी उपचार जस्ता सेवासुविधा उपलब्ध गराइरहेका वताइएको छ ।