बाढी प्रभाविभत क्षेत्रमा माहामारी फैलिन नदिन स्वास्थ्य मन्त्रीको निर्देशन


फिरोज सिद्दिकी, सिरहा । बाढी प्रभावित क्षेत्रमा एक दुई सातापछि माहामारी फैलिने सम्भावना बढि हुने गरेकोले उक्त प्रभावित क्षेत्रमा माहामारी फैलिन नदिन स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले निर्देशन दिनु भएको छ ।
शनिबार सिरहाको धनगडीमाई नगरपालिका प्राकृतिक अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाद्वारा आयोजना गरिएको बाढीपीडित क्षेत्र अनुगमन तथा निरिक्षण कार्यक्रम बोल्नु हुँदै मन्त्री पोखरेलले सरोकारवालाहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

आफू स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको खाचो रहेको औल्याउँदै स्वास्थ्य सुशासन कायम गर्न २६ वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेको बताउँदै अहिले वाढी पिडितहरुको राहतको लागि सरकार लागि परेको बताउनु भयो ।

उहाँले मृतकलाई दुई लाख, घर नष्ट भएकाहरुलाई १५ हजार र विस्थापित परिवारलाई प्रति व्यक्ती ७० रुपैयाका दरले एक महिनासम्म राहत दिने सरकारले निर्णय गरिसकेको छ ।राहत र जनशक्तिको अभाव नरहेको भन्दै मन्त्री पोखरेलले स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुलाई असधारण परिस्थितिमा असाधारण तरिकाले काम गर्न आग्रह गर्नु भयो ।
स्वास्थ्यकर्मीहरु हाइवेको वरिपरि होइन प्रभावित क्षेत्रमा गएर काम गर्नुस्, काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने सरकारको नीति रहेको प्रष्ट पार्नु भयो । संक्रमणकालिन अवस्थामा हात नमिलाउनुस्, नमस्कार गर्नुस्, मास लगाउनुस् यसले संक्रमण हुनबाट बचाउँछ भन्ने अभियाननै चलाएको जनाउनुभयो ।
मानव विकास सुशांक, शैक्षिक सुशांक, स्वास्थ्य सुशांकको हिसावले मधेश कर्णाली भन्दा पनि पिछडिएको क्षेत्र रहेकोले जनताको पक्षमा परिवर्तन र सुधार गर्नुपर्ने कामगर्न सबैमा आग्रह समेत गर्नु भयो ।
धनगडीको प्राकृतिक अस्पताल २०५९ सालमा भारत सरकारको सहयोगमा निर्माण सम्पनन भएपनि हालसम्म सञ्चालनमा नआउनु लज्जाको विषय बनेको छ । तुरन्तै पहल गरी संचालन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले सिरहाको ईटारी प्रसाही र औरही सबभन्दा वढी प्रभावित क्षेत्र रहेको जानकारी दिदै दलित वस्तीका २ सय ४१ घर पूर्ण रुपमा नष्ट भएको जानकारी दिनुभयो । उहाँले ३४ ठाउँमा शिविर संचालन गरी स्वास्थ्य परिक्षण र राहत वितरण कार्य भैरहको बताउनु भयो । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्य कर्मीहरु निकै सक्रिय भई वाढी पिडितलाई सहयोग गरेको थियो ।
कार्यक्रममा दैविक प्रकोप उद्दार समिति सिरहाका सदस्यहरु, स्थानीय अधिकारी, जिल्ला जनस्वास्थ्य प्रमुख, पूर्व शान्ति मन्त्री विश्वनाथ साह, समान्य प्रशासन मन्त्री राम कुमार यादव लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।