संशोधनमा एमालेलाई विश्वासमा लिने प्रयत्न भईरहेको छ : प्रवक्ता

0
Shares

यमलाल भुसाल, बुटवल ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधनको मुद्धामा प्रमुख प्रतिपक्षि दल एमालेलाई पनि विश्वासमा लिएर अंगाडी बढ्ने प्रयत्न भईरहेको बताउनु भएको छ ।

संविधान संशोधनको बिरोध गरिरहेको नेकपा एमालेलाई मुलुकको राष्ट्रिय आवश्यकतामा कन्भिन्स गर्नका लागि सरकार लागि परेको बताउँदै मधेशी मोर्चा नआएपनि चुनाव नरोकिने जानकारी गराउनु भयो ।

उहाँले तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचन तथा प्रदेश र केन्द्रको चुनाव सम्पन्न भएपछि राजनीतिक मुद्धा सकिने र मुलुक आर्थिक मुद्धामा केन्द्रित हुनुपर्ने धारणा समेत राख्नुभयो ।

बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले चाँडै नै सञ्चार क्षेत्रलाई उत्साहित बनाउने कार्यक्रम ल्याउने जानकारी गराउनु भयो ।

सूचनाको हक सबै नागरिकको अधिकार संविधानमा सुनिश्चित गरिएकाले त्यसको सफल कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चार क्षेत्रको बिकासको लागि आफू प्रयत्नशिल रहने उहाँले बताउनु भयो ।

मन्त्री बस्नेतले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग देशको बिकास, गौरव र पहिचान जोडिएकाले त्यसको निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले राजनीतिक परिवर्तनमा अहम् भूमिका निर्वाह गर्ने पत्रकारिता क्षेत्रलाई सरकारले गर्नुपर्ने काम हुन नसकेको बताउनु भयो । उहाँले पत्रकारलाई स्वतन्त्रता पूर्वक निश्पक्षता कायम गर्न पनि आग्रह गर्नुभयो । त्यस्तैगरी सांसद प्राध्यापक डा. कृष्णबहादुर छन्तेलले सबैलाई समेटेर सत्य समाचार दिन आग्रह गर्नुभयो ।

सोही अवसरमा टेलिभिजनले स्थापना गरेको गणेशमान स्मृति गौतमबुद्ध शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार दिलिप भट्टराईलाई सम्मान गरिएको छ । उहाँलाई नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । त्यस्तैगरी गायिका हरिदेवी कोईराला, टेलिभिजनका पत्रकार बिन्दुकुमार चौहान र कमल थापालाई पनि दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित लिलिप भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा पूर्व सांसद बिनोद पहाडी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, टेलिभिजनका उपाध्यक्ष ओम ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । टेलिभिजनले दिउँसो तिजगित कार्यक्रम सेमत गरेको थियो ।