हेटौंडामा पहिलो पटक यु १६ फुटसल

0
Shares

हेटौंडा,(नेस) । हेटौंडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर अन्डर १६ विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । हेटौंडामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । हेटौंडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा भदौ २३ र २४ गते चल्ने प्रतियोगितामा जिल्लाका करिब ३५ संस्थागत विद्यालयको सहभागितमा रहने बताइएको छ ।

आयोजक हेटौंडा फुटसल सञ्चालक यम सिलवालले विद्यालयतहदेखि फुटसललाई व्यावसायिकरुपमा प्रवद्र्धन गर्न र विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्ने उद्धेश्यसाथ  प्रतियोगिता गर्न लागिएको बताए ।
हेटौंडा सिटी कलेज, ग्रीन पब्लिकेसन, संगम पब्लिकेसन, नेचर पब्लिकेसन, मण्डियाल स्पोर्ट र गुगल स्पोर्टलगायतको प्रायोजन रहने प्रतियोगितामा प्रथमलाई नगद ३० हजारसहित शिल्ड र मेडल, द्वितीय हुने टिमलाई २० हजार रुपियाँसहित शिल्ड र मेडलले पुरस्कृत गरिने प्याब्सन मकवानपुर उपाध्यक्ष अनिल पाण्डेले बताए ।

पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने प्रतियोगितामा फुटबलका राष्ट्रिय खेलाडीहरु बिमल घर्तीमगर, अञ्जन बिष्ट, रञ्जन बिष्ट, एलन न्यौपाने, सुनिल बललगायतलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिना, अखिल नेपाल फुटबल संघ केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ र नेपालका राष्ट्रिय टिमका खेलाडी रञ्जन बिष्टलगायतको उपस्थिति थियो ।