३ हजार ३ सय जनालाई अपांगता परिचयपत्र वितरण


 

प्रताप बानियाँ, म्याग्दी
शारीरिक रूपमा अपांगता भएका म्याग्दी जिल्लाका करिब ३ हजार ३ सय जनाले अपांगता परिचयपत्र पाएका छन्। गत आर्थिक वर्ष २०७३⁄७४ सम्म म्याग्दीका कुल ३ हजार २ सय ५९ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको हो।

अपांगता परिचयपत्र लिनेहरूमा ‘क’ वर्गका २ सय ७ जना, ‘ख’ वर्गका १ हजार १ सय ३१, ‘ग’ वर्गका ८ सय ९९ र ‘घ’ ९ सय १८ जना रहेको महिला तथा बालबालिका कार्यालय म्याग्दीले जनाएको छ। अपांगता परिचयपत्र लिनेमा महिला १ हजार ३ सय ४६ र पुरुष १ हजार ८ सय ९ जना रहेको निमित्त महिला विकास अधिकृत भुवनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार अपांगता परिचयपत्र लिनेमा महिलाको तुलनामा ४ सय ६३ जना पुरुष बढी देखिएका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट १ सय ४ जनाले अपांगता परिचयपत्र लिइसकेको उनले बताए। अपांगता परिचयपत्र पाउनका लागि शारीरिक र बौद्धिक अपांगता भएका व्यक्तिले अस्पतालको सिफारिस, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र अपांगता देखिने गरी तीनओटा फोटो पेस गर्नुपर्ने हुन्छ।
व्यक्तिले पेस गरेको सिफारिस, प्रमाण र फोटोका आधारमा उसलाई विभिन्न वर्गअनुसारको अपांगता परिचयपत्र दिने व्यवस्था रहेको निमित्त कार्यालय प्रमुखसमेत रहेका मल्लले बताए। अपांगता स्रोत पुस्तिका अनुसार अरूको सहारा लिएर पनि दैनिक जीवन आफैं सम्पादन गर्न नसक्ने, तीव्र बौद्धिक अपांगता र पूर्णरूपमा श्रवण र दृष्टिविहीनलगायतका समस्या भएकालाई ‘क’ वर्गको रातो रङको परिचयपत्र दिइने गरिएको कार्यालयले जानकारी दिएको छ। यसै गरी कम्मरमुनिको भाग क्रियाशील नहुँदा ह्वीलचियरको सहायता लिनुपर्ने, दुवै हातको पाखुरामुनिका अंग नभएका, दुवै खुट्टा पूर्ण क्रियाशील नभई वैसाखीको प्रयोग गर्नुपर्ने, पूर्ण दृष्टिविहीन तथा बहिरा र दैनिक जीवन आफैं सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङको परिचयपत्र दिने व्यवस्था रहेको बताइएको छ।

त्यस्तै कृत्रिम अंग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन आफैं सम्पादन गर्न सक्ने, पोलियो भएर घुँडामुनिको अंगमा मात्र प्रभाव परेको, शारीरिक रूपमा अपांग तर स्वतन्त्र हिँडडुल गर्न सक्ने, हत्केलाभन्दा मुनि बूढीऔंला र चोरऔंला नभएका जस्ता समस्या झेल्दै आएको व्यक्तिले ‘ग’ वर्गको पहेंलो रङको परिचयपत्र पाउने व्यवस्था रहेको छ। त्यसै गरी शारीरिक रूपमा सामान्य विचलन भए पनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, ठूला अक्षर पढ्न सक्ने, हत्केलाभन्दा तल बूढीऔंला र चोरऔंला भएका, खुट्टाको औंलाका भागहरू नभएका र श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने सुस्त श्रवण व्यक्तिले ‘घ’ वर्गको सेतो रङको अपांगता परिचयपत्र पाउने व्यवस्था रहेको स्रोत पुस्तिकामा उल्लेख गरिएको छ।

सोही अवधिमा कुल २ सय ५८ जना जेष्ठ नागरिकले जेष्ठनागरिक परिचयपत्र लिएकोमा १ सय १२ महिला र १ सय ४६ जना पुरुषहरू रहेको कार्यालयका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीले बताइन्। गत वर्ष नै २ जना महिलालाई हिंसापीडित राहत वितरण गरिएको उनले बताएकी छिन्। जिल्लाको विभिन्न स्थानमा १७ ओटा महिला सहकारी गठन गरेको महिला विकास कार्यालयले लैंगिक हिंसा निगरानी समूहसमेत गठन गरी त्यसमार्फत् समुदायस्तरमा सचेतना वृद्धि, हिंसा न्यूनीकरणको काम गरिँदै आएको उनको भनाइ छ।

यसैबीच कार्यालयलाई गत वर्ष प्राप्त कुल १ करोड ३६ लाख ७१ हजार बजेटमध्ये १ करोड १९ लाख ८ हजार २ सय ८७ रुपियाँ मात्रै खर्च भएको छ। कार्यालयले उक्त बजेटमार्फत् महिला विकास कार्यक्रम, लैंगिक हिंसा निवारणका लागि महिला संस्थाहरूको एकीकृत विकास, जेष्ठ नागरिक एवं बालकल्याणलगायतका विभिन्न शीर्षकमा कार्यक्रमहरू सञ्चालन गरेको बताएको छ।