भूकम्पपीडितका त्रिपाल बाढीपीडितलाई हस्तान्तरण

0
Shares

हेटौंडा,(नेस) ।

क्षेत्रीय प्रशासन कार्यालय आपतकालीन कार्यसञ्चालन कक्ष हेटौंडा–११, थानाभ¥याङमा राखिएका त्रिपालहरु तराईका विभिन्न जिल्लाका बाढीपीडितलाई वितरण गर्न पठाइएको छ ।

बाढीका कारण घरबारबिहीन भएका बाढीपीडितहरुका लागि क्षेत्रीय प्रशासक शम्भुप्रसाद कोइरालाको निर्देशनमा तराईका जिल्लामा पठाइएको हो । रौतहट, रसुवा र बर्दिया जिल्लामा आवश्यक त्रिपाल मंगलबार पठाइएको क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रवक्ता गुणराज न्यौपानेले बताए ।

सबभन्दा बढी रौतहटका लागि २० हजार थान त्रिपाल, रसुवाका लागि एक हजार थान त्रिपाल र २५ थान टेन्ट, बर्दियाका लागि ३ हजार ५ सय थान त्रिपाल पठाइएको प्रवक्ता न्यौपानेले बताए । भुकम्पका समयमा स्टक राखिएको त्रिपाल सम्बन्धित जिल्ला प्रशासन कार्यालयले माग गरेअनुसार पठाइएको हो ।

क्षेत्रीयस्तरको दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार त्रिपाल पठाइएको हो ।