नेपाल र चीनबीच तीन सम्झौतामा हस्ताक्षर,तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक



नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाल र चीनबीच तीन वटा सम्झौतार पत्रमा हस्ताक्षर भएको छ । साथै चीन भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न सकारात्मक देखिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो ।

अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि १ अर्व आरएमवी अर्थात करीव साढे १५ अर्व रुपैया खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

भुकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको ३ अर्व आरएमवी मध्ये १ अर्व सन २०१६ मा खर्च भएको थियो भने सन २०१७ मा १ अर्व खर्च हुनेछ । बाँकी १ अर्व सन २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ।

यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । सवा २ अर्ब रुपैयाँको यो सम्झौताको समयावधि तोकिएको छैन ।

नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।
सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । यो सम्झौता निकै महत्वपूर्ण भएको बताइएको छ ।

द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्