रोनाल्डो पाँच खेलमा प्रतिबन्धित

0
Shares

लन्डन, (एजेन्सी)
आइतबार राति भएको स्पेनिस सुपर कपअन्तर्गत पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि क्रिस्टियानो रोनाल्डोले रेफ्रीमाथि आक्रोशित भएको कारण उनलाई ५ खेलमा प्रतिबन्ध लगाइएको छ।

रोनाल्डोले २ मिनेटको अन्तरमा २ पहेंलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। सुपर कपको पहिलो लेगमा बार्सिलोनासँग उत्कृष्ट गोल गरेपछि आफ्नो जर्सी खोलेर खुसी मानाउँदा रोनाल्डोले पहिलो पहेंलो कार्डको सामना गरे।

त्यसको एक मिनेटपछि बार्सिलोनाको बक्समा लडेर पेनाल्टीको अपेक्षा गर्दा रिकार्डो डि बुर्गोस बेनगोएस्ताले उनलाई दोहोरो पहेंलो कार्ड देखाए। प्रतिकारमा आक्रोशित रोनाल्डोले रेफ्रीलाई धकेलेपछि उनीमाथि थप कारबाही हुने सम्भावना बढेको थियो।

स्पेनिस फुटबल एसोसिएसनको नियमअनुसार रेफ्रीमाथि हात लगाउँदा ४ खेलदेखि १२ खेलसम्म प्रतिबन्धित हुने नियम रहेको छ।

यसअघि बार्सिलोनाकै मैदानमा स्पेनी सुपर कपअन्तर्गत पहिलो लेगमा रियल मेड्रिड ३–१ गोल अन्तरले जितेको थियो। दोस्रो लेग मेड्रिडमा भोलि खेलिनेछ।