माउ उद्योग अर्बपति, सहायकमा आन्दोलन

0
Shares

हेटौंडा, (नेस) । हेटौंडामा कारखाना रहेको बहुर्राष्ट्रिय उद्योग युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७१/०७२ मा १ अर्ब ३ करोड रुपियाँ खुद नाफा कमायो ।

त्यो नाफासँगै कम्पनी ‘अर्बपतिक्लब’ मा समावेश भयो । अघिको वर्षमा भन्दा त्यस वर्ष कमाएको नाफा १२ करोड १६ लाख रुपियाँले बढी थियो । युनिलिभर बढी कर तिर्ने विशेष उद्योगका रुपमा पुुरस्कृत भइसकेको छ ।

तर, सोही उद्योगलाई व्यावसायिक रुपमा सफल बनाउन सामान उत्पादन गरी निरन्तर सहयोग गर्दैै आएको उद्योगमा भने मजदुरले सहमति अनुसार सुविधा माग्दै आन्दोलन थालेका छन् । हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग संघ मकवानपुरका अध्यक्षद्वारा सञ्चालित उद्योगका मजदुर आन्दोलनमा उत्रिएका हुन् । अध्यक्ष समेत रहेका सञ्चालक नवराज अर्यालले सञ्चालन गरेको साबुन र सर्फ उत्पादक युनिक सोप एण्ड केमिकल्स इण्डष्ट्रिजका मजदुर आइतबारबाट उद्योग ठप्प पारेर मूलगेटमा धर्ना दिँदै आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगका मजदुरसँग करिब १५ महिनाअघि भएको सम्झौता कार्यान्वयनमा नल्याइएको भन्दै मजदुर आन्दोलित भएको अखिल नेपाल औद्योगिक मजदुर संघ उद्योग सचिवदुर्गा घिमिरेले बताए ।

उनकाअनुसार मजदुरसहित सरोकारवालाबीच अस्थायी मजदुरलाई स्थायीगर्ने, दैनिक ज्यालादारी करारमा रहेकालाई अस्थायी गर्ने र मजदुर स्वस्थ्य रहन सक्खर उपलब्ध गराउनेलगायत विषयमा सम्झौता भएको थियो ।

सचिव घिमिरेले उद्योगमा ५ वर्षदेखि अस्थायी कार्यरत् १० जना र दैनिक ज्यालादारी करारमा कार्यरत् २६ मजदुरलाई अस्थायी गर्नुपर्ने माग राखेर आन्दोलन गर्दा सम्झौता बमोजिम कार्यान्वयन गर्ने भनिएपनि उद्योगले चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको बताए ।सञ्चालक अर्यालले युनिलिभर अन्तर्गत् रहेर उत्पादन गर्ने उद्योग भएकाले युनिलिभर सँगको सम्झौता अवधि सकिएपछि मजदुरका माग पूरा गर्न समस्या भएको बताए ।

‘युनिलिभरसँगको १० वर्षे सम्झौताको अवधि सकिएको छ । सम्झौता अवधि सकिएकाले मजदुरका माग कार्यान्वयन गर्न सकिएको छैन,’उनले भने । वार्षिक घाटामा भए पनि मजदुरका जायज माग कार्यान्वयनमा ल्याएर उद्योगलाई तीव्रगतिमा सञ्चालनगर्ने आफ्नो सोच जानकारी गराएपनि मजदुरले नमानेको अर्यालको दाबी छ । युनिलिभर र यसमा आश्रित हेटौंडा औद्योगिक क्षेत्रभित्रका युनिक सोप, गंगा सोप र नेसनल सोप उद्योग एक अर्काका पूरक उद्योग हुन् ।