डोलेश्वरमा ७६ लाख संकलन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा हिजोसम्म रु ७६ लाख रकम संकलन भएको छ ।

साउन १ गतेदेखि नियमित रुपमा सञ्चालन भैरहेको मेला हिजो (आइतबार) सम्म यतिको रकम संकलन भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष विश्वराम थापाले जानकारी दिनुभयो ।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको गुरुयोजना सम्पन्न गर्न र थप प्रचार प्रसार गर्ने उद्देश्यले समितिको आयोजनामा श्रावण १ गतेबाट भाद्र ६ गतेसम्म यो मेलाको आयोजना गरिएको हो ।

कोषाध्यक्ष थापाका अनुसार ७६ लाख ३४ हजार २ सय १६ आम्दानी भएको छ । उहाँका अनुसार निर्माण अनुदानमा ५० लाख ८९ हजार ७ सय ७८, भगवान भेटी १९ लाख ३४ हजार ४ सय ३६, पञ्चस्नानबाट ३ लाख ९२ हजार २ सय ४४ र गंगाआरतीबाट ६३ हजार १ सय ७५ लगायत अन्यबाट आम्दानी भएको हो ।

साउन महिनाको अन्तिम सोमबार मन्दिरमा बिहानै देखि श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।