पूर्वी जिल्लामा विद्युत् अवरुद्ध, २ सय ५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट विच्छेद

0
Shares

 

हेमन्त जोशी, काठमाडौं

अविरल वर्षाका कारण पूर्वाञ्चल र मध्यमाञ्चलका तराईका जिल्लामा विद्युत् सम्पर्क विच्छेद भएको छ। नेपाल विद्युत प्राधिकरणको प्रसारणलाइन, सबस्टेशन तथा वितरण प्रणालीमा क्षति भएकाले विराटनगरलगायत पूर्वाञ्चलका सम्पूर्ण जिल्लामा विद्युत् आपूर्ति हुन नसकेको र मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत् अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ।

विभिन्न सबस्टेसन र प्रसारणलाइनमा क्षति पुगेपछि २ सय ५० मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रसारणलाइनबाट विच्छेद भएको नेपाल विद्युत प्राधिकरणका जनसम्पर्क शाखा प्रमुख भेषराज थापाले बताउनुभयो। बाढी प्रभावित कोशी पारीका जिल्लामा टेलिफोन सेवा पनि अवरुद्ध हुँदा आधिकारिक रूपमा कहाँ कति क्षति भएको छ भन्ने जानकारी पाउन कठिन भएको थापाले बताउनुभयो। ‘कोशी पारीका तराईका जिल्लामा पूर्णरूपमा विद्युत् अवरुद्ध भएको छ। पानीको मात्रा बढ्दा सबस्टेसन सञ्चालन गर्न समस्या देखिएको छ भने विभिन्न ठाउँमा विद्युत् पोल ढलेका छन्’– उहाँले भन्नुभयो।

दमक–गोदक १३२ केभी प्रसारणलाइनअन्तर्गत चुलाचुलीमा रहेको १७ नम्बर टावर बाढीका कारण ढलेको प्राधिकरणले जनाएको छ। हेटौडा सबस्टेशनअन्तर्गतको हेटौडा सिमेन्टनजिकै ३६ केभी टावर पल्टिन लागेकाले त्य क्षेत्रको औद्योगिक फिडर सर्किट पनि बन्द गरिएको छ।

त्यसैगरी १ सय ३२ केभी प्रसारणलाइनसहितको दुवही सबस्टेशन सञ्चालन गर्न सकिएको छैन। दुवही सबस्टेशनको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) नै डुवानमा परेपछि कोशी पारीका जिल्लामा पूर्णरूपमा विद्युत अवरुद्ध भएको हो। १ सय ३२ केभीका पथलैया–चन्द्रनिगाहापुर र चन्द्रनिगाहपुर–ढल्केबर प्रसारणलाइनमा पनि समस्या देखिएका कारण विद्युत् आपूर्ति हुन सकेको छैन। १३२ केभी काबेली–दमक प्रसारणलाइनको टावर ढल्दा पाँचथर र इलाम जिल्लामा सञ्चालित जलविद्युत् केन्द्रको उत्पादन पनि बन्द भएको छ। १ सय ३२ केभी चपुर–पथलैया, ढल्केबर–चपुर र ६६ केभी बालाजु–त्रिशूली प्रसारणलाइनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ।

३३ केभी कोहलपुर प्रसारण लाइन र ११ केभी चौरजहारी प्रसारणलाइनमा पनि बाढीले क्षति पुर्याएको सुर्खेत केन्द्र प्रमुख दीपकजंग चौधरीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चौधरीका अनुसार प्रसारणलाइनमा कुन ठाउँमा कस्तो समस्या देखिएको हो भन्ने पहिचान पनि हुनसकेको छैन। ‘सुर्खेतदेखि कोहलपुरसम्मको ५४ किलोमिटर सडकमा विभिन्न ठाउँहरूमा पहिरो गएका कारण हामीले सुर्खेत र कोहलपुर दुवै ठाउँबाट टोली परिचालन गरेका छौं।

बबई नदीमा पानीको सतह पुलभन्दा माथिसम्म आएकाले विद्युत् पोल बगाएको हुनसक्ने अनुमान हामीले गरेका छौं’ –चौधरीले भन्नुभयो। सुर्खेत, दैलेख, जाजरकोट र रुकुमसम्म विद्युत् अवरोध भएको उहाँले बताउनुभयो। तुलसीपुर वितरण केन्द्र प्रमुख टंकराज गिरीले दाङको पश्चिमी क्षेत्रमा केही विद्युत् पोल ढलेर विद्युत् समस्या देखिएको बताउनुभयो। ‘जिल्लाको पश्चिमी क्षेत्र हापुरीमा छ ⁄सात वटा पुल ढलेका छन् तर राट्रिय प्रसारणलाइनमा भने कुनै समस्या छैन’–गिरीले भन्नुभयो।

वर्षा र बाढीले सबस्टेसन र प्रसारणलाइनमा क्षति पुगेपछि केही विद्युतगृहलाई पूर्ण रूपमा बन्द गरिएको प्राधिकरणले जनाएको छ। निजी क्षेत्रका जलविद्युत केन्द्रको उत्पादन पनि रोकिएको छ। विभिन्न निजी र सरकारी क्षेत्रका साना जलविद्युत् आयोजनाको उत्पादन बन्द गरिएको हो। २२ मेगावाटको सानिमा माई, १४ दशमलव ९ मेगावाटको हेवा खोला ‘ए’, १० मेगावाटको माथिल्लो माईलगायत विद्युत् उत्पादन केन्द्रहरू बन्द गरिएका छन्।

सडक सञ्जाल र टेलिफोन सेवामा पनि बाढीले असर गरेकाले क्षतिको पूर्ण विवरण पाउन नसेको र क्षतिग्रस्त प्रसारणलाइन तथा सबस्टेसन भएका क्षेत्रमा पानीको सहत नघटेकाले मर्मतमा समस्या भइरहेको प्राधिकरणले जनाएको छ। प्रसारणलाइन र सबस्टेशनहरूमा समस्या आए पनि विद्युत् प्रसारण भइरहेको क्षेत्रमा पनि विद्युत् लोड बढेका कारण समस्या देखिएको प्राधिकरणले जनाएको छ।