गुल्मीमा पहिरोले दुई घर र एक गोठ पुर्यो, अधिकांश सडक अबरुद्ध

0
Shares

अनिल खत्री, गुल्मी । गएराती अविरल वर्षासँगैको पहिरोले गुल्मीमा एक घर गोठ पुरेको छ । मुसिकोट नगरपालिका ३ बडागाउँको घर्तिगाउँका लाल बहादुर टोमाटाको घर पुरेको छ । घरमा रहेका खाद्यान्य लगायतका सामग्री र दुईवटा बाख्रा मरेका छन् । साँझबाटै पानी परिरहेकाले पहिरो आउन सक्ने भन्दै परिवारका सवै सदस्य छिमेकीको गएका थिए ।

पहिलेनै आफ्नो घर पहिरोको जोखिममा रहेकाले पानी परे अरुकोमा जाने पीडित लाल बहादुरले बताए । सोहि स्थानका मोतिलाल सुनार, रमेश सुनार र नारायण सुनारको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय सुर्य सुनारले जानकारी दिए । उनीहरु पनि छिमेकीको आश्रयमा बस्नुपर्ने अबस्था रहेको उनले बताए ।

त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकाक ६ कुर्घा स्थीत कृष्ण परियारको गोठ पहिरोले पुरेको छ । पहिरोमा पुरिएर उनका गोरु र भैसीको पाडी मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालल बताए । वषासँगै गएको पहिरोले सोहि ठाउँकै टिका पछाईको पक्की घरमाथीबाट पहिरो खस्दा पछाई परिवार बस्थापित भएका छन् । गएराती पानीसगै आएको पहिरोले उनको घर गोठ जोखिममा परेको स्थानीय व्यापारी ज्ञानहरि सापकोटाले जानकारी दिए ।

जिल्लाका अधिकांश सडक अवरुद्ध
वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड शनिवार विहानदेखि अवरुद्ध बनेको छ । उक्त सडक खण्ड मुसिकोट नगरपालीका ६ अन्र्तगत भुवाचिदी नजिकै पहिरो खसेपछि अबरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अवरुद्ध बनेपछि उक्त क्षेत्रवाट तम्घास, पाल्पा, बुटवल र काठमाण्डौंसम्म छुट्ने सम्पूर्ण सवारी साधनहरु ठप्प बनेका छन् ।
सवारी साधनहरु संचालन नभएपछि घरवाट यात्रामा निस्केका सयौं यात्रुहरु समस्यामा परेका छन् । अवरुद्ध सडक सुचारु गर्नका लागि पहल भैरहेको मुसिकोट नगरपालीकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनु भएको छ । वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडलहरु बनाएका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरुमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अहिले जिल्लाका विभिन्न स्थानमा पुग्ने दुई दर्जन सडक पुर्ण रुपमा अबरुद्ध रहेका छन् ।