धुलिखेलमा साईकल सिटी चिन्तन

28
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।  धुलिखेल नगरलाई साईकल सिटीका रुपमा विकास गर्ने उदेश्यले नगरपालिकाले शुरु गरेको अभियानलाई साईक्लिङ्ग क्लव अफ धुलिखेलले ब्यवसायीक रुपमा अगाडी बढाउने भएको छ । साईकल सिटी चिन्तन विषय अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले नगरलाई साईकल सिटी बनाउन आवश्यक पहल गर्न नगरपालिकालाई सुझाव दिएका थिए ।

साईकल सिटीः चिन्तन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले जिल्लामा रहेका विभिन्न साईकल रुटहरुको केन्द्र धुलिखेल बनाउन आवश्यक पहल गर्ने बताए । धुलिखेललाई पर्यटकिय नगरीका रुपमा विकास गर्न साईकल सिटी आवश्यक भएकाले त्यसका लागि नगरपालिकाले विस्तृत अध्ययन गरी कार्यान्वयन गर्ने बताए । स्वास्थ्यका हिसावले पनि साईक्लिङ्ग अत्यन्त महत्वपूर्ण भएकाले हरेक ब्यक्तिहरुले कुनै न कुनै समय साईकलको प्रयोग गर्नु पर्ने ब्याञ्जुले बताए । पनौती, धुलिखेल, चौकोट, फुलचोकी, ढुर्खक, नमोबुद्ध लगायतका स्थानहरुमा साईक्लिङ्ग गर्न सकिने प्रमुख ब्याञ्जुले बताए ।

स्वच्छ हराभरा, स्वस्थ धुलिखेल को नारालाई साथर्कता दिन धुलिखेल नगरपालिकालाइ पहिलो साईकल सिटी घोषणा गर्ने उदेश्यले साईक्लिङ्ग क्लव अफ धुलिखेलले साईक्लिङ्ग संस्कृति, साईकल सिटीः चिन्तन तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको अध्यक्ष रत्नराम तखाँक्षे श्रेष्ठले बताए । जिल्लामा साईक्लिङ्गका बारेमा थप जनचेतना जगाउने उदेश्यले साईकल सिटीको चिन्तन गरिएको  आयोजकले जानकारी दिएका छन् । नगरलाई साईकल सिटी घोषणा गर्न आवश्यक पर्ने केहि मानकहरुका बारेमा अन्र्तक्रियामा सहभागिहरुले सुझाव दिएको संस्थाका सचिव एवं कार्यक्रमका संयोजक मनिष यगोल श्रेष्ठले जानकारी दिए । साईकल सिटीका लागि साईकल लेन, साईकल स्ट्याण्ड, साईकल पार्क, साईक्लिङ्ग रेष्टुृरेन्ट, साईकल सेल, रिपियर, हायर सेन्टर, साईक्लिङ्ग कल्चरलाई सँगसँगै अगाडी बढाउनु पर्नेमा जोड दिईएको थियो ।

साईकल चढ्ने संस्कृतिमा टेवा दिई स्वस्थ, सभ्य, शान्त र सुन्दर धुलिखेल निर्माण गर्ने अभियान शुरु गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, नेपाल साईक्लिङ्ग संघका केन्द्रिय अध्यक्ष हिमी उर्गेन गुरुङ्ग, संस्थाका अध्यक्ष रत्नराम तखाँक्षे, विश्व साईकल यात्री पुस्कर शाह, काठमाडौ जिल्ला साईक्लिङ्ग संघ तथा वातावरण कर्मी देवेन्द्र बस्नेत, काठमाडौ विश्वविद्यालयका डिन तथा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजु लगायतले साईकल सिटी र त्यसको महत्वका बारेमा जानकारी गराएका थिए ।

साईकलका कारण मुटु सम्वन्धी रोगहरु मात्रै नभई थुप्रै रोगहरुबाट मुक्त पाउने भएकाले त्यसको प्रर्वद्धन गर्नु पर्नेमा जोड दिईएको थियो । धुलिखेललाई साईक्लिङ्ग तथा पर्यटनका हिसावले देशभर चिनाउने लक्ष्य राखिएको छ । जिल्लामा साईकल कमिसार (रेफ्रि) रत्नराम श्रेष्ठ, मनिष यगोल श्रेष्ठ, प्रयास लामा र बुद्ध लामा रहेका छन् । उनिहरुले राष्ट्रिय खेलहरुमा समेत सहभागिता जनाएका छन् ।