सामा र छेकममा सात हिउँ चितुवा

0
Shares

सन्तोष अधिकारी,गोरखा ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले उत्तरी गोरखाका दुई हिमाली गाउँहरु सामागाउँ र छेकम्पारमा हिउँ चितुवाको संख्या सात वटा रहेको बताएको छ । प्राकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाको अध्ययनले सो तथ्याङ्क पत्ता लगाएको हो ।

‘मनास्लु क्षेत्रमा सात वटा हिउँ चितुवा छ भन्ने चाहीँ हाम्रो प्राविधिक अध्ययनले पत्ता लगाइसकेको छ’ मनास्लु संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख नरेन्द्र लामाले भने ‘केहि पहिले गणना गरिएको हो ।

अहिले सम्म सोही सात वटा नै रहेको अनुमान गरिउको छ । अरु पनि हुन सक्छ ।’ एमक्यापले हिउँ चितुवाको संरक्षणको लागि नयाँ कार्यक्रम त्यसको आहाराको प्रजातीहरुको विषयमा पनि अध्ययन तथा अनुसन्धान गरिरहेको ।

एमक्यापले समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रम पनि तीन तिनैवटा गाउँमा जारी राखेको छ । हिउँ चितुवा संरक्षणका लागि र त्यसको पहिचानको लागि स्थानीयलाई प्राविधिक तालीम पनि दिइसकेको मनास्लु संरक्षण आयोजनाले जनाएको छ ।

त्यहाँका मानिसहरुलाई चितुवाले शिकार गरेको ठाउँ पहिचान गर्ने, जिपीएस चलाउन सिकाएर हिउँ चितुवाको वास्तविक तथ्याङ्क निकाल्ने काम गरिएको हो । एमक्यापले ति ठाउँका मानिसहरुलाई १५ वटा जिपीएस दिएर अनुसन्धान गरेको हो । समुन्द्री सतहबाट ३५ सय मिटर भन्दा माथीको उचाईमा पाईने सो हिउँ चितुवा गोरखामा ७ देखि १७ वटा सम्म रहेको अनुमान यस अघि देखि नै मनास्लु संरक्षण क्षेत्र आयोजनाले बताउँदै आएको छ । उत्तरी गोरखामा हिउँ चितुवाले स्थानीयको घरपालुवा जनावर पनि खाएर दुख समेत दिने गरेको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार चितुवाले कसैको, घरपालुवा जनवार खाइदियो भने त्यसको क्षतिपूर्तिका लागि कोष पनि निर्माण गर्न लागिएको छ । सो बारे उत्तरी गोरखाका सिर्दीबास, ल्हो, प्रोक, छेकम्पार, विही, सामागाउँ, चुम्चेत गाउँमा स्थानीयलाई भेला गराएर संरक्षण क्षेत्र आयोजनाले छलफल कार्यक्रम समेत गर्ने गरेको छ ।

गोरखामा सात वटा रहेको हिउँ चितुवा नेपाल भर तीन सय देखि पाँचसयको संख्यामा रहेको अनुमान गरिएको छ । हिउँ चितुवा आहारको खोजीमा ३० देखि ४० बर्ग किलोमिटर टाढाको दुरी सम्म जाने भएकाले वास्तविक तथ्याङ्क निकाल्न समस्या भएको एमक्यापले जनाएको छ ।

यस अघि एमक्यापले छेकम्पारमा अध्ययन गर्दा एउटा माउ र दुई वटा पोथी हिउँ चितुवा प्रत्यक्ष देखेर नै गणना गरेको थियो । अरु चितुवाको भने दिसा पिसाबको आधारमा गणना गरि संख्या एकिन गरिएको हो ।