हिउँदमा विद्युत् व्यवस्थापन गर्न कठिनाइ हुने माग अनुरुप विद्युत उत्पादन भएन

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण बन्ने जनाएको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले वार्षिक रुपमा बढ्दो विद्युत् माग र लोडसेडिङ व्यवस्थापन चुनौतीपूर्ण हुने बताउनुभयो।

विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा यस वर्ष १ सय ५० देखि २ सय मेगावाट विद्युत् माग बढ्न सक्ने जनाएको छ। विद्युत् माग बढ्दै गए पनि सोही अनुपातमा विद्युत् उत्पादन भने हुन सकेको छैन। लोडसेडिङ कम गर्नका लागि प्राधिकरणले अघि सारेका कार्यक्रमहरू प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा उक्त समस्या पुनः देखिन सक्ने प्रवक्ता अधिकारीले बताउनुभयो। ऊर्जा दक्षता कार्यक्रम, कुलेखानी तेस्रँे र ढल्केवर सवस्टेसनको काममा भएको ढिलाइ, एलइडी बल्ब खरिद र २५ मेगावाट सोलार ग्रिड जडानमा देखिएको झमेलाका कारणले लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्न चुनौतीपूर्ण रहेको अधिकारीले बताउनुभयो।

प्राधिकरणले ऊर्जा दक्षता कार्यक्रममार्फत कसरी विद्युत्को किफायती उपयोग गर्न सकिन्छ भनेर सर्वसाधारणलाई जनचेतनाका कामहरू गर्ने गरी कार्यक्रम अघि सारेको थियो। तर विवादमा परेपछि उक्त कार्यक्रम अघि बढ्न सकेको छैन। भारत सरकारको अनुदानमा निर्माण भइरहेको रक्सौल–परवानीपुर र कटैया–कुशाहा १ सय ३२ केभी प्रसारण लाइनमार्फत पनि सय केभीसम्म आयात गर्न सकिने भए पनि २ सय २० केभी ढल्केवर सवस्टेसन बन्ने सुनिश्चितता नभएको अवस्थामा भारतबाट थप विद्युत् आयातका लागि समस्या देखिने अधिकारीले बताउनुभयो। त्यस्तै टनकपुर सवस्टेशनको क्षमता अभिवृद्धि गरी ५० एमभीएबाट सय एमभीए पुर्याउन प्राधिकरणले प्रस्ताव गरे पनि मन्त्रालयबाट कुनै जवाफ पाएको छैन। सो प्रसारण लाइनको क्षमता विस्तारको काम तत्काल कार्यान्वयन गरिनुपर्ने प्रवक्ता अधिकारीले बताउनुभयो।

एलईडी बल्ब खरीद गरी सर्वसाधारणलाई वितरण गर्ने र करिब १ सय ५० किलोवाटसम्म विद्युत् खपत घटाउने तथा नुवाकोटमा सोलार ग्रिड जडान गरी २५ मेगावाट विद्युत् उत्पादन गर्ने प्राधिकरणको लक्ष्य पनि विवादकै कारण तुहिएको छ।

यस वर्ष ३० मेगावाट चमेलिया र १३ मेगावाट कुलेखानी तेस्रो गरी सरकारी निकायबाट कुल ४४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने अनुमान गरिएको छ। चमेलिया जलविद्युत् आयोजना आगामी मंसिरभित्र निर्माण सम्पन्न गर्न लागिएको आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो। तर कुलेखानी तेस्रोमा भने इलेक्ट्रो मेकानिकलका कामहरू अपेक्षित रुपमा अगाडि बढ्न सकेका छैनन्। त्यस्तै आगामी चैत्रसम्ममा निजी क्षेत्रबाट पनि १ सय ५० मेगावाट प्रसारण लाइनमा थपिनसक्ने अनुमान गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो। उक्त जडित क्षमताका विद्युत् आयोजनाहरूको सुख्खायाममा विद्युत् उत्पादन घट्ने हुँदा तिनीहरूको योगदान करिब १ तिहाइ घट्ने उहाँले बताउनुभयो।

यसका साथै गतवर्ष ग्राहकहरूले कम मात्रामा विद्युत् खपत गरिदिएका कारण विद्युत् प्रणाली सञ्चालनमा सहयोग पुगेको र यस वर्ष पनि ग्राहकबाट सोही खालको सहयोगको आवश्यकता रहेको अधिकारीले बताउनुभयो।