चिनियाँ इन्टरनेटले नेपाललाई जोड्दै

0
Shares

 

दीपेन्द्र थापा, काठमाडौं

चीनबाट आयातित अप्टिकल फाइबरले भदौबाट नेपाललाई जोड्ने भएको छ। अप्टिकल फाइबरबाट नेपाल भित्रिने अनलिमिटेड ब्यान्डविथ इन्टरनेट चीनको जिलोङबाट रसुवागढी नाका हुँदै नेपाल भित्रिने भएको हो। रसुवाबाट गल्छी हुँदै काठमाडौं आएपछि चिनियाँ नेट देशका अरू ठाउँ विस्तार हुनेछ।

चीनबाट ल्याउन लागिएको इन्टरनेट सेवा भारतीयको विकल्पमा ल्याइएको हो। भारतीय इन्टरनेटमा समस्या हुँदा वैकल्पिक बाटोका रुपमा उक्त अप्टिकल फाइबरलाई लिइएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले यसका लागि ४ हजार मिटरको उचाइमा ३० किलोमिटर थप रुटको काम गरेको थियो। तर विभिन्न ठाँउमा काटिएको फाइबर रुटलाई खनेर मर्मत गर्न नसक्दा चिनियाँ इन्टरनेट पहिले नै नेपाल आउन नसकेको हो।
आगामी भदौसम्म नेपालमा चीनबाट आयातित इन्टरनेट सेवा ल्याउने लक्ष्यका साथ काम अगाडि बढेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताउनुभयो। उहाँका अनुसार हाल थप २० किलोमिटरमा फाइबर बिच्छइउने काम भइरहेको छ।

उक्त फाइबर रुटको क्षेत्रविस्तारपछि नयाँ परीक्षण गरिने भएको छ। रुट परीक्षण भइसके पनि नयाँ रुट थपिएकाले सबै रुट पनि कस्तो छ भनेर परीक्षण शुरु गर्ने टेलिकमको योजना छ। दु्रत गतिमा काम भइरहेको भए पनि उक्त अन्तर्राष्ट्रिय ब्यान्डविथ भौगोलिक कठिनाइका कारण नै समयसीमामा ल्याउन नसकिने उहाँको भनाइ छ।

टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छइउन तीनवटा कम्पनीलाई स्वीकृति दिई सञ्चालक समितिमा पठाइसकेको छ। ‘भौगोलिक रुपमा रुट तयार नभएसम्म इन्टरनेट सेवा मुलुकमा भित्त्याउन र विस्तार गर्न पनि समस्या पर्छ।’ अधिकारीले बताउनुभयो। उहाँले थप्नुभयो– ‘आगामी भदौबाट शुरू भएपछि त्यसको गुणस्तर कस्तो हुने छ हामीले हेर्दै र सुधारको पहल गर्दै जाने छौं।’

‘हामी पूर्णरूपमा भारतबाट आउने रूटमा निर्भर रहने अवस्था छैन। तसर्थ यो वैकल्पिक रूटबाट नेट जोड्न लागेका हौं।’ –सह–प्रवक्ता अधिकारीले बताउनुभयो।
त्यस्तै आगामी दिनमा मल्टिपल बाटो बनाउँदै जाने टेलिकमको योजना रहेको छ। अन्त पनि कहाँकहाँ सम्भावित बाटो हुन सक्छ टेलिकमले अध्ययन गरिरेको छ त्यहाँ पनि विस्तार गर्दे जान्छौं।

हाल टेलिकमले पूर्वमा विराटनगर, वीरगन्ज, भैरहवाको रुटबाट नेट जोडेका छ। त्यस्तै चाइना टेलिकमसँगको सहकार्यमा रूट विस्तार हुँदै छ। त्यस्तै टेलिकमसँग सहकार्य गरेर अगाडि बढ्न अरू कम्पनी पनि आइरहेका छन्। ती कम्पनीसँग पनि सहकार्य गरेर टेलिकमले काम गर्ने अधिकारीले बताउनुभयो। यसले गर्दा एउटै कम्पनीसँगको परनिर्भरता घट्दै पनि जाने उहाँको विश्वास छ।
हुन त आम मनिसले सोचेजस्तो चाइनाको नेट ढिला नरहेको टेलिकमको दाबी छ। चीनसँग रूट जोडेपछि हालभन्दा उपभोक्ताले खरिद गरिरहेको मूल्यमा समेत कमी आउने सम्भावना रहेको छ। धेरै सेवा प्रदायक कम्पनी भएपछि शुल्क घट्ने टेलिकमले जनाएको छ। टेलिकमले मोफलसलको क्षेत्रमा समेत फोर जीको विस्तार पनि गदै जाने बताएको छ।

फाइबरमा सिग्नलहरू लाइटको रुपमा कन्भर्ट भएर ३ लाख किलोमिटर प्रतिसेकेन्डको गतिमा प्रवाह हुने बताइएको छ। उपभोग गर्नलाई सेवाग्राहीको रूपमा हालसालै इम्पयाक्ट दिँदैन तर विकल्पको रूपमा यो रोजिएको हो। यसलाई विकल्पको बाटो मात्र बनाइराखेको टेलिकमले जनाएको छ।