एक हप्तादेखी अँध्यारो झेल्दै रुकुमका बासिन्दा,सरकारी कामकाज देखि अस्पतालसम्म ब्यापक समस्या 

0
Shares

धनवीर दाहाल,रुकुम ।
उसो त रुकुममा कहिलै पनि बिद्युत नियमित भएन । रुकुमेलीहरु कुनै बेला तिन दिनमा एक पटक मात्र बिजुली बाल्न पाउँथे भने कुनै बेला एक महिनामा एक दिन मात्र बिजुली बाल्न पाउँथे ।

स्यार्पु दह साना जलबिद्युत आयोजनाले रुकुमको मुसिकोट, बाँफिकोट, पिपल, रुकुमकोट छिबांग लगाएतका ठाँउहरुमा अलि अलि भएपनि काम धानेको थियो । स्यार्पु दह साना जलबिद्युतमा मर्मत गरेपछि केही राहतको महसुस भएको रुकुमेलीलाई यतिबेला त झनै पिडा दिएको छ ।

केन्द्रीय लाइन जडान भएपछि अव ढुक्कसँग बिजुली बाल्न पाइनेमा आसाबादी भएका रुकुमेलीहरु लाई केन्द्रीय लाइनले पनि कहिलै सुख्ख दिएन ।

एक महिनामा कम्तीमा २४ पटक बिग्रने गरेको केन्द्रीय लाइन नियमित नहुनु र स्यार्पुदह साना जलबिद्युत आयोजनामा खरावी आउनुले यतिबेला रुकुम एक सातादेखी अन्धकार छ ।

मोवाइल चार्ज गर्नलाई मानिसहरु यतिबेला जेनेरेटर भएको ठाँउमा लाग्ने लाग्ने गरेका छन् ।

केन्द्रीय लाइनको सल्यानमा र जिल्लाको स्यार्पुदह साना जलविद्युत योजनाको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि गत एक सातादेखी विद्युत सेवा बन्द भएको हो ।

विद्युत सेवा बन्द भएपछि जिल्लास्थित सरकारी कार्यालयका कामकाजमा समस्या भएको छ भने जनजीवन प्रभावित बनेको छ ।

विद्युत नभएका कारण जिल्ला प्रशासनबाट नागरिकता वितरण तथा अन्य सरकारी कार्यालयमा दैनिक कामकाज प्रभावित भनेको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

विद्युत अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीलाई उपचारमा समेत समस्या भएको जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन । अल्ट्रासाउन्ड, एक्सरे, प्रसूति सेवा, प्रयोगशाला सेवालगायतमा समस्या परिरहेको जिल्ला स्वास्थ्य कार्यालय सल्लेका सिनियर अहेव दीपक विष्टले जानकारी दिए ।

विद्युत सेवा बन्द भएपछि जिल्ला सदरमुकाम लगायत वाँफिकोट, छिवांग, मग्मा बाँफिकोट, दुली, झुलालगायतका बासिन्दालाई दैनिक कामकाजमा समस्या भएको छ ।

विद्युत सेवा बन्द भएका कारण जिल्ला सदरमुकामका साना तथा मझौला चार दर्जनभन्दा बढी उद्योग, पाँचवटा एफएम रेडियोका प्रसारणसमेत नियमित हुन सकेका छैनन ।

विद्युत मर्मत भइरहेकाले केही दिनपछि मात्र नियमित हुने विद्युत प्राधिकरणका कर्मचारी रामबहादुर केसीले जानकारी दिए ।