पोषण योजनाका लागि यस बर्ष अछामलाई झण्डै डेढ करोड रकम प्राप्त



बिष्णुप्रसाद भण्डारी,अछाम ।

बहु क्षेत्रीय पोषण योजनामा यस बर्ष अछामका लागि झण्डै डेढ करोड रकम बिनियोजन भएको छ । संघिय प्रणालीमा बहु क्षेत्रीय पोषण योजना कार्यान्वयनका लागि यस बर्ष अछाम जिल्लालाई एक करोड ३५ लाख ५० हजार रुपैया प्राप्त भएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहमा प्रत्येक स्थानीय तहका लागि १५ लाख १८ हजार सम्म बजेट प्राप्त भएको बहु क्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक मानबहादुर कुँवरले जानकारी दिनुभयो ।

१० ओटै स्थानीय तहका लागि रकम बिनियोजन, एउटा स्थानीय तहलाई १५ लाख सम्म रकम

उहाँका अनुसार सजमा सबै भन्दा कम बान्नी गढी जयगढ गाउँपालिकाका लागि ११ लाख १० हजार रुपैयाँ प्राप्त भएको छ भने सबै भन्दा बढी मंगलसेन नगरपालिकाका लागि १५ लाख १८ हजार पैयाँ प्राप्त भएको छ । उक्त रकम पोषणको स्थिती सुरधारका लागि गरिने बिभिन्न क्रियाकलाप सञ्चालनमा खर्च हुने कुँवरले बताउनुभयो ।

पोषण योजना कार्यान्वयनमा आए देखि जिल्लाको पोषणको स्थितीमा उल्लेख्य मात्रामा सुधार आएको कुँवरको भनाई छ । कार्यक्रम अन्तरगत अहिले जिल्ला भर धमाधम अभिमुखिकरण कार्यक्रमहरु भैरहेका छन् । केही दिन पहिले सदरमुकाम स्थित मंगलसेन नगरपालिकामा संघिय प्रणालीमा बहु क्षेत्रीय पोषण योजना कार्यान्वयन बिषयक नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोमा शनिबार मात्र जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरप्रमुख देवराज देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख अम्बिका चलाउने, सहित नगरपालिकाको कार्यकारीणी समितिका सदस्यहरु र ९ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागी जनप्रतिनिधिले पोषणको स्थिती सुधारका लागि ११ बुँदे प्रतिबद्धता जनाएका छन् ।

जनप्रतिनिधिले नगरपालिकामा सबै बालबालिकालाई अनिवार्य बिद्यालय जाने बतावरण श्रृजना गरि गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, निःशुल्क तथा गुणस्तरीय उपचारका लागि स्वास्थ्य चौकी र नगरपालिकाको केन्द्रमा रहेको हालको स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने, ३५ दिन भित्र जन्म दर्ता गर्न आउने सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने, बालमैत्री स्थानीय शासन क्रमसः सबै वडामा कार्यान्यवन गराई सबै वडालाई बालमैत्री स्थानीय शासन कार्यान्वयन भएको वडा घोषणा गर्ने र नगरलाई पनि बालमैत्री स्थानीय शासन कार्यान्वयन भएको नगरका रुपमा बिकास गर्ने लगायत पोषणको स्थितीमा सुधारका लागि ११ बुँदे प्रतिबद्धता जनाएका हुन् ।

साथै अभिमुखिकरण सम्पन्न भएपछि शनिबार नै नगरप्रमुख देवराज देवकोटाको अध्यक्षतामा पोष तथा खाद्य सुरक्षा निर्देशक समिति समेत गठन गरिएको छ ।

जसको उपाध्यक्षमा उप–प्रमुख अम्बिका चलाउने रहनुभएको छ । सोही अनुरुप वडा स्तरमा पनि वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गर्ने व्यवस्था भएबमोजिम वडामा पनि निर्देशक समिति गठन गरिने बताइएको छ ।
निर्देशक समितिले पोषण सम्बन्धि क्रियाकलाप सञ्चालनका लागि बिषयगत शाखाहरुको सुझाव र सल्लाहका आधारमा योजना निर्माण गर्नुका साथै स्थानीय तहमा पोषण सम्बन्धि कार्यक्रम गर्न चहाने संस्थाका कार्यक्रम समेत अनुमोदन गर्ने÷नगर्ने अधिकार राख्छ ।

सोही समितिको निर्देशन अनुसार मात्र स्थानीय तहमा पोषण सम्बन्धि क्रियाकलाप सञ्चालन हुने व्यवस्था संघिय प्रणालीमा बहु क्षेत्रीय पोषण योजनामा छ ।

 

प्रतिक्रिया दिनुहोस्