वृक्षारोपण गरी पर्यावरण जोगाउँदै उपभोक्ता

0
Shares

स्वच्छ पर्यावरणका लागि बोटविरुवा जोगाउनुपर्ने –नगरप्रमुख अधिकारी

सीताराम चौधरी,कपिलवस्तु ।
पर्यावरण जोगाउन बोटविरुवा संरक्षण गर्नुपर्ने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले जोड दिनुभएको छ ।

मनकामना सामुदायिक वन उपभोक्ता समूह करहिया कपिलवस्तुद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा बिरुवा रोपेर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो ।

मानव र विरुवा एक अर्काका परिपूरक भएको औल्याउँदै नगरप्रमुख अधिकारीले सबै मिली बोटविरुवाको संरक्षणमा जुट्नुपर्ने जिकिर गर्नुभयो । मानव जीवनमा बोटविरुवा अत्यावश्यक रहेको औल्याउँदै उहाँले भन्नुभयो– “बोटबिरुवाका कारण पर्यावरण स्वच्छ छ, हराभरा छ र नै हामी बाँचेका छौं ।”

मनकामना सामुदायिक वनले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर जिसी, नेकपा एमाले शिवराज नगरकमिटी सचिवालय सदस्य अर्जुन के.सी, आवर मदरल्याण्ड एकेडमीका अध्यक्ष शरद अधिकारी लगायतले वृक्षारोपण गर्नुभएको थियो ।

सामुदायिक वनक्षेत्रभित्र खाली रहेको दुई हेक्टर क्षेत्रफलमा ३ हजार विरुवा रोपिएको वन व्यवस्थापन समिति अध्यक्ष रामबहादुर के.सी.ले जानकारी दिनुभयो ।

पर्यावरण जोगाउन मनकामना सामुदायिक वनले हरेक वर्ष बृक्षारोपण गर्दै आएको छ अध्यक्ष के.सी.ले बताउनुभयो । मनकामना सामुदायिक वनमा एक हजार बढी उपभोक्ताले वनको संरक्षण गर्दै आएका छन् ।