विद्युत्को पोल नसार्दा सडक निर्माण अवरुद्ध

0
Shares

ललितपुर, २२ साउन । निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन ।

प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता गरेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।

झण्डै चार महिनादेखि काम ठप्प भएको इन्जिनियर आरती साहले बताउनुभयो । जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो माथिल्लो निकायले प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरिरहेको छ ।”

चक्रपथसँग जोडिएको सडकमा काम लथालिङ्ग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन् । साह भन्नुहुन्छ, “ठेकेदार काम गर्न हतारिएको छ, पोल नसारेकाले मात्रै काम रोकिएको हो ।” पोल सारेको एक महिनामा नै काम सकिने कार्यालयले जनाएको छ ।

सातदोबाटो–चापागाउँ सडकखण्डमा सडक बिस्तारको काम भइरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम अघि बढेको छैन ।

सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको र खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक बिस्तार आयोजनाको हो । रासस