सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
सौर्य ऊर्जाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जडान गर्न कामको शुक्रबार थालनी भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल इन्जिनियर्स एसोसिएसन तथा ऊर्जा अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थानको संयुक्त सहकार्यमा इन्जिनियर एसोसिएसनको भवनमा जडित सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ गर्ने कार्यको ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले संयुक्त रुपमा शुरूआत गर्नुभयो।

नेपाल विद्युत प्राधिकरणले गत वैशाखमा नेट मिटरिङ कार्यविधि पास गरेपछि सोही कार्यविधि अनुरुप केन्द्रीय प्रसारण लाइनमा जडान गर्न कार्यको शुरुआत भएको नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले बताउनुभयो।
एसोसिएसनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ४० लाख रुपिँयाको आर्थिक सहयोग प्राप्त गरी उक्त सौर्य ऊर्जा उत्पादन गरेको हो। एसोसिएसनको भवनबाट १५ दशमलव ६ किलोवाट सौर्यविद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको एसोसिएसनले जनाएको छ।

कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विदेशी लगानी जुटाउन र गफभन्दा परिणममुखी काम गर्नुपर्ने बेला आएको बताउनु भएको छ। मन्त्री शाहीले विदेशी लगानी ल्याउनका लागि सहज खालको वातावरण बनाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो। ‘हामीले सकेसम्म राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय लगानीमानै निर्माण गर्नुपर्छ सकिँदैन भने विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउन आवश्यक रहेको।’ मन्त्री शाहीको भनाइ थियो।

वैकल्पिक ऊर्जाको विकास गर्न सके विद्युत् अभावलाई सम्बोधन हुने ऊर्जासचिव अनुपराज उपाध्यायले बताउनुभयो।