तीन बेपत्ता, हजारौं घर डुबानमा


नवलपरासी, (नेस)
बाढीका कारण नदी र खोलामा डुबेर तीन जना बेपत्ता भएको छन्। तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण नवलपरासीमा शुक्रबार एक ाबलकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए।

पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन्। दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए।

यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब २ हजार घर डुबानमा परेका छन्। बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ।

जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाको बाढी ती क्षेत्रमा बसेको बताइएको छ।