दाङमा औद्योगिक क्षेत्र घोषणाको पहल

0
Shares

नरेन्द्र केसी, दाङ ।

लामो समयदेखि चर्चामा रहेर अलपत्र पर्ने गरेको दाङमा औद्योगिक क्षेत्र घोषणाको पहल फेरि शुरु भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रकृया शुरु भइसकेको जानकारी दिनुभयो । स्थानीय तहले निर्णय गरेर लिमिटेडलाई जिम्मा दिएमा अझ सजिलो हुने उहाँले बताउनुभयो ।

दाङको साविक धर्ना गाविसमा औद्योगिक क्षेत्र स्थापना गर्नका लागि लामो समयदेखि छलफल हुँदै आए पनि यो एजेण्डा त्यसै अलपत्र पर्ने गरेको छ । अब स्थानीय तहमा जनप्रतिनिधि आएकाले यो एजेण्डा अघि बढ्ने अपेक्षा गरिएको छ ।

घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र ५ को बिचमा पर्ने साढे पाँच सय विगाह जग्गालाई औद्योगिक क्षेत्र बनाउन सरकारसमक्ष प्रस्ताब गरिएको छ । तीन बर्ष पहिले देखी दाङ जिल्ला उद्योग बाणिज्य संघको अगुवाईमा औद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिएको हो ।

औद्योगिक क्षेत्र राख्न उपयुक्त छ भन्ने वाताबरणीय प्रभाब मूल्यांकन रिपोर्ट हुनुपर्ने, राष्ट्रिय योजना आयोगले राष्ट्रिय योजनाको बिषय बनाएपछि सरकारले औद्योगिक क्षेत्र घोषणा गर्ने अध्यक्ष बस्नेतले जानकार िदिनुभयो । उहाँले छनोट गरिएको क्षेत्रमा १० बर्षका लागि पाँच सय बिगाह जग्गा प्रशस्त हुने भन्दै अब अध्ययन थाल्ने बताउनुभयो । औद्योगिक क्षेत्र स्थापना भएपछि सबैखाले उद्योगको सोही क्षेत्रमा जानेछन् ।

घोराहीमा औद्योगिक क्षेत्र स्थापना गर्न स्थानीय तह पनि सकारात्मक देखिएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आगामी नगरसभाबाट प्रस्ताबित क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने बताउनुभयो ।

भविष्यलाई मध्यनजर गर्दै योजनाहरु बनाउनुपर्नेमा जोड दिदै अहिले प्रस्ताब गरिएको क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने गरि नगरसभाबाट घोषणा गर्ने उहाँले बताउनुभयो । सडक, सुरक्षा, सञ्चार, बिद्युत, पर्यटकिय क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्रलाई दिर्घकालिन सोचमा राखेर काम गर्न आफुहरु प्रतिबद्ध रहेको चौधरीको भनाई छ ।

उपमहानगरले अब यहाँको चौतर्फि बिकासका लागि दिर्घकालिन गुरुयोजना बनाएर अघि बढ्न थालेको समेत प्रमुख चौधरीले जानकारी दिनुभयो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले जसरी भएपनि प्रस्ताबित क्षेत्रलाई औद्योगिक क्षेत्रकारुपमा बिकास गर्न सबैलाई सकारात्मक भुमिका खेल्न अपिल गर्नुभयो । उहाँले राज्यले तत्काल औद्योगिक क्षेत्र घोषणा गरेर पूर्वाधार निर्माणको काम थाले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्न सकिने बताउनुभयो ।