एमालेले टुंगायो उम्मेदवारः नयाँलाई साथ पुरानालाई काख

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।
२०७० सालको मंसिरमा सम्पन्न भएको दोश्रो संबिधान सभाको निर्वाचनमा पर्सा जिल्लाको कुल निर्वाचन पाँच मध्य तीनवटा निर्वाचन क्षेत्र जित्न सफल भएको नेकपा एमाले पर्साले असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

एमाले पर्साले वीरगन्ज महानगरपालिकाका लागि मेयर तथा उपमेयरको नाउँ टुंगो लगाएको हो । तेश्रो चरणको निर्वाचनको दुई नम्बर प्रदेशको सबै दलको समेत आकर्षणको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा मेयर पदका लागि बसरुद्दिन अंसारीलाई एमालेले उठाउने निर्णय गरेको छ । तीब्र असंतुष्टीका बावजुद पनि अंसारीलाई एमाले पर्साले उम्मेदवार बनाउने निर्णय सर्वसहमत गराएको हो ।

बिग्रिएको एमाले पर्साको ब्यालेन्स मिलाउनका लागि पार्टीले पार्टीका पूर्व जिल्ला अध्यक्ष चिरन्जिवी आचार्यकी पत्नीलाई उपमेयर बनाउने निर्णय गरेको छ । मेयर पद पठाइएका अंसारी केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका हुन् । उनी एमालेमा प्रवेश गरेसंगै पर्सा एमालेमा खैलाबैला मच्चिएको थियो ।

मेयरकै पदका लागि सिफारिस गरिएका सुन्दर कुर्मीले त पार्टी नै छाडेर फोरममा प्रवेश गरिसकेक छन् । स्थानीय एक मेडिकल कलेजमा संचालक रहेका अंसारी २०७० सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट सभासदमा उठेका ब्यक्ति भएका कारणले पनि उनी पार्टीमा टिक्ने संभावना कम भएको भन्दै पुराना एमालेहरुले असंतुष्ट जनाएका थिए ।

सर्वसहमतिबाटै मेयरमा बसरुद्दिन अंसारी र उपमेयरमा सोफिया आचार्यको नाम सिफारिस गरिएको एमाले पर्साका जिल्ला अध्यक्ष प्रभु हजराले बताए ।

उनले बाहिर आएजस्तो पार्टीमा कुनै विवाद नरहेको र वीरगन्ज एमालेले जित्ने संभावना प्रवल रहेको दाबी गरे । मेयरमा अंसारी सहित पुराना एमाले नेता चिरन्जीवीकी धर्मपत्नीलाई उपमेयरमा एमालेले उठाउने निर्णय गरेपछि पर्सा एमालेमा देखिएको विवाद पनि धेरै हदसम्म मत्थर भएको बिश्लेषण गरिएको छ । अब विवाद गर्ने ठाउ नै नभएको प्रेस चौतारीका इचार्ज डा.बिश्वम्भर शर्माले बताए ।

नयाँ र पुराना दुबैलाई मिलाइएका कारण बिरोध गर्ने अवस्था अब नभएको र एमाले पर्सा अब बलियो भएको तर्क उनको छ । मुसलवान समुदायको ठूलो बर्चश्व रहेको वीरगन्जमा बसरुद्दिनले सजिलैसंग चुनाव जित्ने आंकलन एमाले बृत्तको छ ।

केही दिन अगाडि वीरगन्ज आएका एमाले बरिष्ठ नेता माधव कुमार नेपालकै पहलमा अंसारीलाई मेयरको टिकट दिइएको बुझिएको छ ।