नेपाल अघि बढ्दै ः उपप्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
दक्षिण एसियाली मुलुकहरू द्रुत गतिको आर्थिक तथा सामाजिक विकासमा अघि बढिरहेकाले नेपाल पनि त्यस्तो कदममा अघि बढिरहेको उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताउनुभएको छ।

यसका लागि नेपालले द्विपक्षीय एवं बहुपक्षीय सहकार्य चाहेको उहाँको भनाइ छ। बंगलादेशको राष्ट्रिय सुरक्षा विद्यालयका प्रतिनिधिमण्डलसँगको अन्तक्र्रियामा बोल्दै मन्त्री महराले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय संरचनाभित्र रहेर विकासका गतिलाई अघि बढाउन सकिने धारणा राख्नुभयो।

उपक्षेत्रीय सहकार्यका लागि पनि बीबीआईएन छुट्टै महत्व रहेको बताउँदै मन्त्री महराले नेपालले छिमेकीसहित अन्य मुलुकसँग न्यानो मित्रवत् सम्बन्ध राखेको विचार व्यक्त गर्नुभयो। नेपाल संयुक्त राष्ट्र संघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित परराष्ट्र नीतिको पक्षमा रहेको उहाँले प्रस्ट्याउनुभयो।

कार्यक्रममा बोल्दै बंगलादेशका सुरक्षा विद्यालयल प्रमुख एवं एयर भाइस मार्सल एम सन उल हकले भौगोलिक रुपमा निकट रहेका दुवै मुलुकबीचको शैक्षिक सहकार्य सफल रहेको उदाहरण दिनुभयो। आगामी दिनमा आर्थिक पक्षसँग जोडिएका विविध विषयमा पनि परिणाममुखी सहकार्य हुन सक्ने उहाँको भनाइ थियो। सो विद्यालय प्रमुख हकको नेतृत्वमा करिब २ दर्जन सैन्य अधिकारी परराष्ट्र मन्त्रालय पुगेका थिए। बंगादेशको सैन्य विभाग मातहतको सुरक्षा विद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषय अध्यापन र अनुसन्धान गराउँदै आएको छ।

सो छलफलका क्रममा बंगाली टोलीले नेपालको सुरक्षा र कूटनीतिक विषयमा चासो व्यक्त गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सो कार्यक्रममा बोल्दै परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालमा वैदेशिक लगानीको वातावरण बनेको बताउनुभयो। उहाँले ऊर्जा, कृषि र सूचना प्रविधिजस्ता क्षेत्रमा द्विपक्षीय सहकार्यको सम्भावना औंल्याउनुभयो।