जेलबाट छुटेर फेरि कल बाइपास

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
कल बाइपासको अभियोगमा जेल परेर मुक्त भएको १० महिना नपुग्दै एक युवक पुनः कल बाइपासको अभियोगमा पक्राउ परेका छन्।

तीन वर्ष जेल परेका साविक सिपाली गाविस ८ हाल रोशी गाउँपालिका ६ का ३२ वर्षीय विनोदकुमार मैनाली पक्राउ परेका हुन्। २०७० असोज १४ गते पनौतीबाट पक्राउ परेका मैनालीले दूरसञ्चार ऐन २०५३ को दफा ४७ उपदफा ५ अनुसार ३ वर्ष जरिवनासहित कैद बसेका मैनालीले पुनः जेलबाट छुटेलगत्तै त्यही कारोबार शुरू गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए।

बनेपा नगरपालिका–७ मा आफ्नै घरको कोठामा साविक शिखरआम्बोटे गाविस ३ घर भएका २२ वर्षीय विकास लामा, चौरी देउराली गाउँपालिका–४ घर भएका २४ वर्षीय सुजन तामाङ, दोलखा जिल्ला फस्कु गाउँपालिकाका–२४ वर्षीय अबि थापा र म्यादी जिल्ला मंगला गाउँपालिका–२ बाबियाचौरका २९ वर्षीय केशवराज पौड्याल पक्राउ परेका हुन्।

विदेशबाट स्वदेशमा आउने कलमा स्थानीय कल बनाएर राजस्व छली गर्ने गिरोह केही वर्षदेखि सक्रिय भएको छ। काभ्रेपलाञ्चोक जिल्लामा केही वर्षअघि दूरसञ्चारकै दुई कर्मचारी उक्त अभियोगमा पक्राउ परेका थिए।

कल बाइपास गरेको गोप्य सूचना लिएर केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा कल बाइपासमा प्रयोग हुने उपकरण तथा सामानहरू बरामद गरेको छ।

भारतको हैदरवाद घर भएका रविविलास भिला भन्ने व्यक्तिको सहयोगमा बनेपामा विगत २ हप्तादेखि कलपाइस गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले पक्राउ परेको व्यक्तिबाट ६४ पोर्टको भीओआईपी गेट वे दुई थान, नगद १७ हजार, एसर कम्पनीको ल्यापटप एक थान, चार्जर, मोबाइल सेटहरू ६ थान, टिपी लिंकको राउटर, एनटिसी राउटर, माइक्रो मोडीयम, यूएसबी मोडियम, केभिन होम यूपीएस, स्मार्ट सोलार डिप ब्याट्री, स्मार्ट टेलको सिम कार्ड १ सय २० पिस, एच पिको पेनड्राइभ, एनसिएलको सिम कार्ड दुई थान, मल्टी पल्गलगायतका सामानहरू बरामद गरिएको थियो।