बंगलादेशी सेना भेटघाटमा

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं
नेपाल भ्रमणमा रहेको बंगलादेशको नेसनल डिफेन्स कलेजको भ्रमण दलका प्रमुख एयर भाइस मार्सल एम सनउल हकले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुभएको छ।

उक्त भेटमा उहाँहरूबीच दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको थियो। भेटवार्ताको कार्यक्रम पश्चात् भ्रमणदललाई युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी दिएको थियो।

बंगलादेशी सेनाका एयस भाइस मार्सल हकको नेतृत्वमा २४ सदस्यीय भ्रमण दल सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेको हो। उक्त भ्रमणदलले नगरकोटस्थित सैनिक वार कलेज तथा पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।