क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सभापतिका लागि कार्यकक्षको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । स्ववियू सभापतिको नेतृत्वमा गएको टोलीले क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेललाई दुईघण्टा कार्यकक्षमा थुनेर बाहिर निकाली तालाबन्दी गरेको हो । कार्यकक्षको ढोका अगाडि टासिएको क्याम्पस प्रमुखको नाम रहेको बोर्ड समेत हटाएर त्यस ठाउँमा स्ववियू सभापतिको कार्यकक्ष लेखेर तालाबन्दी गरिएको छ ।
गत साउन ८ गते तालाबन्दी गरेपछि क्याम्पस प्रमुख डा. कृष्ण पोखरेल आजसम्म पनि आफ्नो कार्यकक्षमा प्रवेश नै गर्न नपाएपछि प्रशासन कक्षमा बसेर फर्कने गर्नुभएको छ । क्याम्पस प्रमुख पोखरेलले स्ववियू सभापतिका लागि कार्यकक्ष माग गर्दै आएपनि क्याम्पस प्रशासनले दिएको कक्षमा नबसी क्याम्पस प्रमुख बस्दै आएको कोठा नै माग गर्दा समस्या भएको बताउनुभयो ।नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल विद्यार्थी संघको संयुक्त प्यानलले स्ववियूको नेतृत्व सम्हाले पनि क्याम्पस प्रमुख माथि भएको अपमानको भने नेविसंघ र अनेरास्ववियूले विरोध गरेको छन् ।

नेपाल विद्यार्थी संघका सचिव दीप गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्याम्पसलाई विद्यार्थी राख्ने कक्षा कोठा नभएको र एउटै कक्षामा ७५ जना विद्यार्थी कोचेर पढाउनु पर्ने बाध्यात्मक अबस्थामा क्याम्पस प्रमुखको कार्यकक्ष माग गरेर नाम बोर्ड नै हटाउनु अपमान भएको ठहर गरेको छ । सभापतिको कार्यकक्ष भनेर टासिएको पोष्टर हटाएर तत्काल क्याम्पस प्रमुखलाई काम गर्ने वातावरण बनाउन नेविसंघले माग गरेको छ ।

यता अनेरास्ववियूका अध्यक्ष सुवास तिमिल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तीमा सहमतिमा स्ववियू कार्यकक्ष निर्माण गर्नुपर्नेमा क्याम्पस प्रमुख र उपप्रमुखलाई बन्दक बनाई क्याम्पस प्रमुखको बोर्ड हटाएर सभापतिको बोर्ड राखेकोमा आपत्ति जनाउँदै तत्काल नहटाए प्रतिकार गर्ने जनाएको छ ।स्ववियू सभापति दिनेश खड्गीले भने क्याम्पस प्रमुखसंग स्ववियू सभापतिको कक्ष र बैठक कक्षको माग गरेको बताउँदै उहाँले मागको बेवास्ता गरेपछि सांकेतिक विरोध गरेको बताउनुभयो ।