पराजयको समीक्षा गर्दै भक्तपुर काँग्रेस

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
स्थानीय निर्वाचन २०७४ मा नेपाली काँग्रेस भक्तपुरले पराजित हुनुको कारण खोज्दै उम्मेदवारहरुसंग बृहत छलफल र अन्तक्र्रिया गरेको छ ।नेपाली काँग्रेस भक्तपुरले यहाँ आयोजना गरेको स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसको तर्फबाट प्रत्यासित उम्मेदवारहरुको उत्प्रेरणा भेलामा निर्वाचनमा पराजित हुनुपर्नुका कारण र आगामी निर्वाचनमा खेल्ने रणनीतिकाबारेमा बृहत छलफल भएको थियो ।

निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको कार्यक्रममा पूवं सांसद एवं नेपाली काँग्रेसका नेता लेखनाथ न्यौपानेले काँग्रेस भित्रको अन्र्तघात र गुटबन्दीलाई हटाउन नसके अझै समस्या आउने बताउँदै पार्टीलाई शीरमा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुखका उम्मेदवार राजाराम खड्का, सूर्यविनायक नगरपालिकाका नगर प्रमुखका उम्मेदवार विष्णुराज कार्की, भक्तपुर नगरपालिकाका नगर प्रमुखका उम्मेदवार राम कासुलाले पार्टी चुनावमा पार्टी एक भएर जान नसकेका कारण जितको नजिक रहेको नगरपालिकामा पराजित हुनु परेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले भक्तपुर काँग्रेसमा गुटबन्दी हटाउँन आफू प्रतिबद्ध रहेको बताउँदै कमजोरीलाई हटाएर आगामी चुनावमा विजय सुनिश्चित गर्नेगरि अगाडि बढ्ने बताउनुभयो ।

त्यसअवसरमा काँग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, सचिव उद्धव सिलवाल, नेताहरु मदनकृष्ण श्रेष्ठ, सरु बानियाँ, निशान ढुंगेल, जीवन खत्री, नारायण खायमली लगायतले गुटबन्दी र अन्र्तघातको अन्त्य र पार्टी एक ढिक्का हुनु नै काँग्रेसको सफलताको कडि भएको औल्याउनुभयो ।

स्मरण रहोस् कांग्रेसको गढ भनेर चिनीएको मध्यपुरथिमी नगरको प्रमुखमा समेत गरी भक्तपुरका चागूनारयाण,सुर्यबिनायक र भक्तपुर गरी ४ वटै नगरपालिकामा कांग्रेसले पराजय बेहोरेको थियो ।

 

अहिलेकै अबस्था रहे कांग्रेसले आगामी संघीय र केन्द्रीय निर्वाचनमा समेत हार खाने बताउँदै कांग्रेस शुभचिन्तकले पार्टी भित्र बिगतको गंभीर समीक्षा गरी सबै नेता तथा कार्यकर्तालाई मिलाएर लैजानु नेतृत्वको दायित्व भएको बताएका छन् ।

 

पछिल्लो समयमा भक्तपुर कांग्रेसले निरन्तर कार्यक्रम समेत अघि बढाएको छ । एक सातामा उसले ३ वटा कार्यक्रम सम्पन्न गरिसकेको छ ।