एमाले बिरुद्ध भ्रम फैलाइयो : पोखरेल

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेशमा एमाले बिरुद्ध भ्रम फैलाइएको बताउनुभएको छ ।

वीरगन्चमा एमाले निकट पत्रकार संघ प्रेस चौतारीको २ नम्बर प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमालेबारे मधेशमा फैलाइएको भ्रम चिर्न आफ्ना पार्टीका पत्रकारहरुलाई आग्रह गर्नुभयो। यसअघि सम्पन्न पहिलो र दोस्रो चरणको निर्वाचनमा ६ वटा प्रदेशमा एमालेले शान्दार जित हात पारिसकेको भन्दै उहाँले भन्नुभयोः अब प्रदेश नम्बर २ मा पनि अन्य दलहरुले जस्तो सुकै गठबन्धन वा महागठबन्धन बनाए पनि एमालेलाई कुनै फरक पर्नेवाला छैन, यो प्रदेशमा पनि एमाले नै पहिलो पार्टीका रुपमा स्थापित हुने निश्चित छ, कसैले शंका नगरे हुन्छ।’

वीरगन्जमा मङगलबार प्रेस चौतारी नेपालले गरेको प्रदेश नम्बर २ को विस्तारित बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले तराई मधेमा एमाले पार्टीमा प्रवेश गर्ने लहर नै चलेको बताउनुभयो ।मधेस र मधेसी जनताको विरोधमा एमाले कहिल्यै पनि नरहेको भन्दै उहाँले भन्नुभयो, ‘एमाले तराई मधेसमै जन्मिएको हो, यही हुर्किएको हो, त्यसैले एमालेले सदैव मधेस र मधेसीको जनताको पक्षमा काम गर्दै आएको छ।’

नागरिकताको सवालमा मधेसका नेपाली जनता सबै भन्दा बढी संवेदनशील रहेको जिकिर गर्दै एमाले महासचिव पोखरेलले मधेसमा देखिएको नागरिकताको समस्या सामधानका लागि एमाले गम्भीर ढंगले लागेको र यो समस्याको सामाधान एमाले नै गर्ने दाबी गर्नुभयो ।
नागरिकताको सवालमा अहिलेको संविधान अत्यन्त उदार रहेको बताउदै उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतका पदमा भने अंगीकृत नागरिकलाई आसीन गराउने पक्षमा एमाले नरहेको स्पष्ट पारे।नेपालमा रहेका मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रावधान संविधानमै उल्लेख रहेको भन्दै उनले विदेशमा बोलिने राष्ट्रिय भाषालाई भने नेपालको सरकारी कामकाजको भाषा बनाउने सवालमा एमालेले कुनै पनि सम्झौता नगर्ने बताउनुभयो ।