बेनी–दरबाङ सडक अबरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

0
Shares

प्रताप बानियाँ, म्याग्दी । पश्चिम म्याग्दी भेगलाई जोड्ने जिल्लाको एकमात्र सडक बेनी–दरबाङ सडकखण्ड अबरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको लाम्पाटामा सडकमाथी आएको पहिरोको कारण सडक अवरुद्ध भएको हो । यही साउनको पहिलो शनिबार राती सडक माथीबाट आएको पहिरोले सडक अबरुद्ध भएपछि दिनहुँ सडकमा गुड्ने सवारीसाधन, यात्रा गर्ने पदयात्री, यात्रु, सर्वसाधारण र स्थानीयवासिन्दालाई समस्या भैरहेको छ । लाम्पाटामा आएको पहिरोका कारण बेनी–दरबाङ सडकखण्ड भएर चल्ने सवारीसाधन र यात्रुहरु बिच बाटोमै अलपत्र पर्ने गरेका छन् ।

बेनीबाट दरबाङका लागि छुट्ने यात्रुबाहक र मालबाहक सवारीसाधनहरु बाबियाचौर र दरबाङदेखि बेनीका लागि छुटेका सवारी लाम्पाटा क्षेत्रमा रोकिएका छन् । निरन्तरको वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध बनाएपछि यात्रुहरु ठाउँठाउँमा ओर्लिएर हिँड्न बाध्य हुनुपरेको यात्रु तथा सर्वासाधारणले गुनासो गरेका छन् ।

सडक अबरुद्ध बेनपछि पश्चिम म्याग्दी भेगको सदरमुकामसँग सिधा यातायात सेवाबाट सम्बन्धबिच्छेद भएको छ । उक्त सडक अवरुद्ध हुँदा पश्चिम भेगका तीनवटा गाउँपालिकामा खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत ढुवानी गर्न तथा आवतजावतमा समस्या भएको व्यापारीहरुले गुनसो गरेका छन् । अबरुद्ध सडकका कारण विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पदयात्री, सर्वसाधारणलगायतले सास्ती बेहोर्नुपरिरहेको छ । यसैगरी आफ्नो जिल्लाको सदरमुकाम पुग्न पश्चिम बागलुङका सर्वसाधारणले समेत बेनी–दरबाङ रुट प्रयोग गर्दै आइरहेका छन् ।

बेनी–दरबाङ सडकमा सीधा सवारी यातायात सञ्चालन नहुँदा यातायात व्यवसायी समेत मारमा परेको पश्चिम म्याग्दी यातायातका सहचालक कृष्ण फगामीले बताउनुभयो । उहाँले यात्रुहरुलाई ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने अवस्था, भनेको समयमा गाडी नपाउनु र गन्तव्यमा समयमा नपुग्ने जस्ता समस्याका कारणले गर्दा अवरुद्ध बाटो छिटो खुलाउन माग गर्नुभयो ।

अबरुद्ध बेनी–दरबाङ सडकखण्डअन्तर्गत लाम्पाटामा आएको पहिरो हटाउनका लागि पहल गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । उहाँले डिभिजन सडक कार्यालय बागलुङ, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकासँग आवश्यक समन्वय गरी अबरुद्ध सडक खुलाउन डोजर परिचालन गरिसकिएको बताउनुभयो । अवरुद्ध सडक खुलाउने विषयमा स्थलगत अवलोकन गरी आवश्यक प्रक्रिया अघि बढाइएको बताउँदै प्रजिअ पौडेलले डिभिजन सडक कार्यालयबाट स्काभेटर मेशिन र चालक आइसकेको हुँदा अब केही दिनमै सडक खुल्ने बताउनुभएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले अबरुद्ध सडक खुलाउने आफूले पनि पहल गरिरहेको बताउँदै सडक खुलाउने अवधिभर मेशिनलगायतको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यक सुरक्षा प्रबन्ध मिलाइने बतउनुभयो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका क्रमशः अध्यक्षहरु शतप्रसाद रोका, श्रीप्रसाद रोका र थमसरा पुनले सडक अबरुद्ध हुँदा धेरै सास्ती बेहोर्नुपर्ने अवस्था रहेको बताउँदै अबरुद्ध सडक खुलाउन तथा निरन्तर सुधारका लागि प्रतिबद्धता जनाएका छन् । अबरुद्ध सडक पन्छाउनका लागि अपरेटरसहित मेशिन परिचालन गरिसकिएको हुँदा अब केही दिनभित्रै सडक खुल्ने गाउँपालिका अध्यक्षहरुको भनाई छ ।