जिसस पर्वतमा एमालेको पूरै समूह विजयी

0
Shares

 

फलेवास (पर्वत), १७ साउन । जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका उम्मेदवार मनोहर बी पौडेल विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनमा पौडेलले आठ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार परशुराम पुरीले छ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा एमालेकै यामकुमारी राना विजयी हुनुभएको छ । उहाँले पनि आठ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखका काँग्रेस उम्मेदवार लालकुमारी सिकेले छ मत प्राप्त गर्नुभएको थियो ।

समन्वय समितिका अन्य सात सदस्य पद पनि एमालेनै जितेको छ । विजयी सदस्यमा ज्ञानबहादुर भण्डारी, विष्णुराम विक, कविता विक, नन्दलाल सुवेदी, ओमप्रसाद रेग्मी, विष्णुमाया पौडेल र शर्मिला नेपाली रहेका छन् ।

समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए । पर्वतका सात स्थानीय तहमध्ये चारमा एमाले विजयी भएको थियो भने तीनमा नेपाली काँग्रेस विजयी भएको थियो । समन्वय समितिको चुनावमा पनि एमाले उम्मेदवारको पक्षमा आठ र काँग्रेस उम्मेदवारको पक्षमा छ मत खसेको हो ।

विजयी भएका उम्मेदवारको शपथ तथा पदभार ग्रहणसमेत आजै सम्पन्न हुने भएको छ । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस