जब मन्त्रीकै अगाडी मोबाइल चलाएर बसेका हाकिम कुटिए


नेपाल समाचारपत्र, जनकपुर ।
विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत प्रमुखलाई स्थानीयले कुटपिट गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै अनुगमनमा निस्केका प्रमुख अर्जुन प्रसाद सुवेदी लाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।

जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मन्त्री साहसहित मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरु विद्यापति चोक पुगेका हुन् ।

अनुगमनकै क्रममा मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई बोलाएर निर्देशन दिईरहेको बेला जनकपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख अर्जुन प्रसाद सुवेदी आफ्नो गाडीमा मोबाईल चलाएर बसेका थिए ।

उपमहानगरपालिकाकै समन्वयमा संचालित आयोजनामा सबैभन्दा बढि जिम्मेवार कार्यकारी प्रमुख मन्त्रीलाई नटेरी गाडीमा बसेको देखेपछि केही स्थानीय युवाहरुले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरे।

प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि आक्रोशित युवाहरुले उनलाई गाडीबाट तान्दै कुटपिट गरेका हुन् ।