दाङका प्रहरीको हर्कत-बरामद मोटरसाईकल जम्मा गर्दै बेच्दै

0
Shares

नेपाल समाचारपत्र, दाङ ।

दाङको वडा प्रहरी कार्यालयले पक्राउ गरेर राखेका मोटरसाईकल विक्रि गरेको खुलासा भएको छ । अनुसन्धानका क्रममा अबैध ठहरिएको मोटरसाईकल कवाडमा वेचेको खुलासा भएको हो ।

अवैध ठहरिएका सवारी साधनहरुलाई राजस्व सदरका लागि भन्सारमा पठाउनु पर्छ । तर यसरी समातिएको मोटरसाईकल वडा प्रहरी कार्यालय घोराहीले कवाडमा वेचेको पाईएको हो । रा१प३३१८ नम्बरको निलो होण्डा साईनको मोटरसाईकल पार्टपुर्जा निकालिएको अबस्थामा कवाडखानामा भेटिएको हो ।

तर मोटरसाईकल कवाडखानामा लैजानुपर्ने अबस्थाको भने थिएन । पुरानो मोटरसाईकल घोराहीको मुख्य बजार स्थित सब्जीमण्डी नजिकै मुन्ना कवाडखानामा पार्टपुर्जा निकालेर राखिएको अबस्थामा केहि समय पहिलो भेटिएको थियो ।

अवैध रुपमा भित्राइएको मोटरसाईकल वडा प्रहरी कार्यालयका प्रमुखको आदेशमा कवाडमा बेचिएको खुलासा भएपछि आलोचना सुरु भएको छ । वडा प्रहरी कार्यालयका सिभिल प्रहरी ईश्वर खड्काले वडा प्रहरी प्रमुख सुर्य थापाको आदेशमा मुन्ना कवाडलाई पाँच हजार रुँपैयामा विक्रि गरेको पाईएको हो ।

त्यो मोटरसाईकल यसअगाडीका वडा प्रहरी प्रमुख प्रकास सापकोटाको कार्यकालमा पक्राउ गरीएको स्रोतले बताएको छ । वडा प्रहरी प्रमुख थापाको निर्देशनमा सिभिलमा काम गर्ने खड्काले कवाड खानाका मुन्ना खानलाई बोलाएर त्यो मोटरसाईकल विक्रि गरेका थिए ।

‘वोलाउन पठाउनुभयो, हामी गईम, अनि पाँच हजारको लिएर आएको हो ।’ कवाडखाना सञ्चालकले बताए । ‘हाकिमसाव हुनुहुन्थ्यो माथी(छत)बाट कुरा गर्नुभयो । वाईक र पतिला (रक्सी पार्ने भाँडा) लिएर आएको हुँ ।’ वडा प्रहरीले पक्राउ गरेको पुरानो बाईक र घरेलु मदिरा उत्पादन गर्नेहरुबाट जफत गरीएका भाँडाहरु समेत विक्रि गरेको पाईएको छ ।

कागजात विनाको मोटरसाईकल कवाडमा किन्न नपाईने विषयमा आफुलाई थाहा नभएका कारण किनेको मुन्ना खानले बताए । ‘प्रहरीले नै बेच्न नहने हो नी ।’ उनले भने ।

घरेलु मदिरा नष्ट गर्ने क्रममा जफत गरीएका भाँडाहरु समेत प्रहरीले कवाडमा बेचेको छ । जिन्सी सामग्रीहरु सम्बन्धीत निकायहरुमा पठाउनु पर्ने भए पनि प्रहरीले आफुखुशी कवाडमा विक्रि गरेको पाईएको छ । विक्रि गरेको पैसा कहा खर्च भयो भन्ने पनि अन्यौल नै छ ।

यसको साथै प्रहरीले विभिन्न ट्याक्टर व्यवसायीहरुबाट अनाधिकृत रुपमा पैसा असुल गर्ने गरेको समेत पाईएको छ । ढुंगाजन्य बस्तुहरु उठाउने ट्याक्टरहरुबाट रसिदविना नै पैसा असुल गर्ने गरेको पाईएको हो ।

७÷८ जना भन्दा बढि ट्याक्टर व्यवसायीहरुले आफ्नो नाम नभन्ने सर्तमा आफुसंग प्रहरीले विभिन्न समयमा पैसा असुल गर्ने गरेको जानकारी दिएका छन । ‘पाँच हजार देखि २५ हजार रुपैया सम्म घुमुवाले लिदै आएको छ । अहिले सम्म कति खायो कति ।’ उनिहरुले बताए ‘तपाईले समाचार बनाईदिनु भयो भने अलि कम हुन्थ्यो कि ।’

ढुंगाजन्य वस्तुहरु उत्खननका क्रममा एक दुई पटक समातिए पनि त्यसपछि भने ट्याक्टरबाट पैसा असुल गरेर छोड्ने गरेको पाईएको छ । ‘सबै ट्याक्टरले कुतै न कतै काम गरीराको हुन्छन् । हामी बस्नु पनि भएन ।’

खोलाको किनारमा जग्गा खरिद गरेर ढुंगाको काम गर्न सुरु गरेका ट्याक्टर व्यवसायीले भने, ‘खोलामा ट्याक्टर पस्नै हुँदैन । पैसा माग्न आईहाल्छ ।

एक दुई हजार त कति खायो कति ।’ वडा प्रहरी कार्यालयका शिभिल प्रहरी ईश्वर खड्काले हाकिमले पैसा मागेको छ भन्दै पैसा असुल्ने गरेको व्यवसायीहरु बताउछन् । उनिहरुको अनुसार प्रहरीले गाडीमा तेल हाल्नको लागि भन्दै व्यवसायीहरु संग पैसा माग्ने गरेको छ ।

यता सिभिल प्रहरीको रुपमा काम गरेका वडा प्रहरी कार्यालयका ईश्वर खड्काले आफुलाई फसाउन खोजेको बताएका छन । ढुंगाजन्य बस्तु उत्खनन गर्ने धेरै ट्याक्टरहरुलाई पक्राउ गरेर कार्बाही गरेको भन्दै खड्काले कसै संग पनि पैसा खाने नगरेको र आफुलाई बदनाम गर्न खोजेको प्रतिक्रिया दिएका छन ।

मध्यपश्चिम प्रहरी प्रमुख विजयलाल कायस्थले पक्राउ गरेको मोटरसाईकल विक्रि भएको भए छानविन गरेर दोषीलाई कारबाही गरीने बताउनुभयो । उता वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले घटना प्रती सत्यता नभएको दावी गर्नुभयो । उहाँले नेपाल समाचारपत्र सँग कुरा गर्दै भन्नुभयो, ‘पक्राउ गरेर राखेका मोटरसाईकल विक्रि गरेको हल्ला निराधार हो मैले कुनै यस्तो काम गरेको छैन्’ ।