नेपाली साहित्य फैलाउँदै अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वे

0
Shares

सन्तोष अधिकारी,गोरखा ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेले नेपाली साहित्य नर्वेमा फैलाउने प्रत्यत्न गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्तीका अवसरमा समाजले नर्वेको राजधानी ओस्लोमा आयोजना गरेको कार्यक्रममा दर्जनौँ कवि कवियत्रीहरुले आफ्नो कविता वाचन गरेको हो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ नर्वेका अध्यक्ष सञ्जीवकुमार थापाले नर्वेमा पहिलो पटक भानुभक्तको सम्झनामा कार्यक्रम भएको भन्दै प्रशंशा गरे ।

उनले भने, ‘नेपाली साहित्यलाई अन्तराष्ट्रिय क्षेत्रमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ ।’

विद्यावारिधी शोधकर्ता देवेन्द्रप्रसाद अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका उपाध्यक्ष शालिकराम अर्याल, प्राध्यापक विशाल सिटौलालगायतले भानुभक्त नेपाली साहित्यका धरोहर भएकाले उनको सम्झनामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्वेले कार्यक्रम गरेर राम्रो गरेको बताए ।

नेपालबाट पहिलोपटक नर्वे गएर बसोबास गरेका हेम गुरुङले पहिलोपटक नेपाली साहित्यसम्बन्धी यति ठूलो कार्यक्रम भएको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिए ।

समाजका अध्यक्ष विष्णुमाया विभुले नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरसम्म फैलाउन आफुहरु निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

हरेक कार्यक्रममा महिलाको कम प्रतिनिधित्व भएको अवस्थामा साहित्य क्षेत्रमा महिलाको सहभागीता बढ्दै गएकोमा उनले खुसी ब्यक्त गरिन् ।

समाजका सचिव बरुण पौडेलले सबैलाई स्वागत गर्दै नेपाली साहित्यलाई नर्वेमा चिनाउन यो कार्यक्रमले थोरै भएपनि मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सागर काफ्ले, विकल्प अधिकारी, डिपी न्यौपाने, अमरसिंह, देवी चरण चम्लागाईँ, खुम ढकाललगायतले भानुभक्तको सम्झनामा कोरीएको कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली साहित्यलाई मायाँ गर्ने ४० भन्दा बढी नेपालीको सहभागीता रहेको थियो ।