राजधानीका सडक उस्तै, प्रमको निर्देशनले हावा खायो


 

प्रशान्त वली, काठमाडौं
देशभरका दर्जनौं सडक–खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ। कतिपय सडकहरू खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबाहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन्। कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मारमा पर्ने गरेका छन्। असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरू दीर्घकालीनरूपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो छ। सडक निर्माणमा जिम्मेवार निकाय संवेदनशील बन्न नसक्दा दर्जनौं यात्रु र सवारीसाधनले वर्षेनि दुर्घटनाको शिकार हुनुपरेको छ।

काठमाडौंको केशरमहल–लाजिम्पाट, चाबहिल–बौद्ध–जोरपाटी, रत्नपार्क–सिनामंगल, डल्लु–ढल्कु–टेकु, चुच्चेपाटी–महांकाललगायतका सडकखण्डमा अझै खाल्डा–खुल्डी यथावत छन्। किन अझै उपत्यकाकै सडकमा यति धेरै खाल्डाखुल्डी भनेर जिज्ञाशा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हरि पन्थीले धेरै खाल्डाखुल्डी भएका अतिसंवेदनशील ठाउँमा छिटोभन्दा छिटो खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘साउन १२ गते पनि खाल्डाखुल्डी पुर्ने विषयमा छलफल भएको हो। धेरै खाल्डाखुल्डी भएको ठाउँमा तुरुन्तै पुर्ने भन्ने निर्णय भएको छ।

पत्रकारहरूले पनि डिभिजन सडक कार्यालय र काठमाडौं महानगरपालिकालाई घचघच्याइदिनुपर्यो। यदि काम गर्ने निकायले काम गर्न सकेनन् भने के भएर गर्न नसकेको भन्नेबारेमा स्पष्टीकरण लिनुपर्ने हुन्छ।’ ८ मिटर चौडाभन्दा ठूला खाल्डा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयलाई पुर्ने जिम्मेवारी दिइएको छ भने चौडाइमा ८ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ।

काठमाडौंकै कीर्तिपुर ल्याबरोटरी स्कुलदेखि कीर्तिपुर तिनकुने, चाबहिल–वौद्व, जमललगायतका सडकहरू पिच हुने क्रममा छन्। पिच भएका सडकहरूले स्थायित्व पाउन नसक्ने यात्रुको गुनासो छ।

कीर्तिपुर बाइपास सडकखण्ड शीर्षकमा उजुरी परेको र अहिले अनुसन्धानका क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। निर्माण कम्पनीविरुद्ध स्थानीयले उजुरी दर्ता गराएको बुझिएको छ। ९ करोड ३२ लाख रुपियाँ खर्च गरेर सो सडक पिच गरिएको थियो। झण्डै १० करोड खर्चिएको पिच १० दिन पनि नटिकेपछि स्थानीयले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको नेतृत्वमा सरोकारवाला निकाय डिभिजन सडक कार्यालय २ लाई ध्यानाकर्षण गराए। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जसले सडक निर्माण गरेको हो। गल्ती भएकै हो। हामीले तुरुन्तै नयाँ सडक बनाउन सरकारलाई ताकेता गरेका छौं। कसरी बिग्रियो भन्ने सम्बन्धमा अध्ययन गर्न कार्यालयले टोली बनाएको भन्ने जानकारी पाएका छौं।’

ग्राभेलबिना र पानी परेको बेला अत्यन्तै कमसल ढंगले सडक कालोपत्रे गरेका कारण कालोपत्रे नटिकेको हुनसक्ने कीर्तिपुर बस्दै आएका विकास पोख्रेलले बताए। करिब १३ सय मिटरको यो सडकखण्डमा अहिले थुप्रै स्थानमा पिच उप्किएको छ भने केही स्थानमा भासिएको पनि छ।

कीर्तिपुर नगरपालिकाले हालै गरेको यसको प्रारम्भिक अध्ययनमा यसमा कम बिटुमिन प्रयोग भएको र पिच गर्नुभन्दा अघिको गहिराई कम भएको निष्कर्ष निकालिएको छ। वज्रगुरू कविन्द्र जेभीले २०७३ चैतमा उक्त सडक निर्माणको ठेक्का लिएपछि सो स्थानमा सवारी आवत–जावत गर्न रोक लगाइएको थियो। सञ्चालनमा आएको दुई सातामै पिच उप्किएपछि अहिले सडक विभागले उक्त स्थानमा सवारी आवागमन पुनः रोक्नका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ। अब यो सडकलाई पुनः मर्मत गरिने बताइएको छ।

सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पानीको निकास नभएर कतिपय सडकखण्डको पिच उप्किएको हुनसक्छ। यदि ठेकेदार कम्पनीको लापरबाहीले पिच भत्किएको भए विभाग र मन्त्रालयबाट सडकको अनुगमन जाँच हुनेछ र कारबाहीको दायरामा ल्याउँछौं। यसैबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्षायाम अगाडि राजधानीको सडक बनाउनका लागि केही गर्न नसकिने बताउनुभएको छ। उहाँको यो भनाइले प्रधानमन्त्रीले दिनुभएको खाल्डा पुर्ने निर्देशनले हावा खाने अवस्था सिर्जना भएको छ।