संविधान संशोधनबारे राप्रपा अनिर्णित

0
Shares

शिवहरीप्रसाद भट्टराई,राजविराज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने वा नगर्ने भन्ने कुरा सदनमा निर्णयार्थ टेवुल गरिएपछि मात्र निर्णय गर्ने स्पष्ट पारेको छ ।

अध्यक्ष कमल थापाले वर्तमान सरकार मधेशको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भिर नभएको भन्दै संविधान संशोधन प्रस्ताव टेवुल गरिए मात्र पक्ष वा विपक्षमा मतदान गर्ने वारे उपयुक्त निर्णय लिने स्पष्ट पारेका हुन् ।

प्रदेश नं. २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको तयारीको सिलसिलामा मधेश भ्रमणमा निस्केका अध्यक्ष थापाले सोमवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो कुरा वताएका हुन् ।

‘पहिलो कुरा मेधशको समस्या समाधान गर्न कांग्रेस माओवादी गम्भिर देखिएका छैनन्’ उनले भने–‘मधेशवादी दललाई अलमल्याउन मात्र संशोधनको प्रस्ताव चाँडै टेवुल गर्ने हल्ला गरिएको हो ।’ उनले कांग्रेस र माओवादीले नै आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन नचाहेको दोषारोपण गर्दै यदि यसो गरिए मुलुकका लागि दुर्भाथ्य हुने वताए ।

उनले सत्तारुढ दलको स्वार्थ र नियतकै कारण स्थानीय तहको तेश्रो चरणको निर्वाचनको समय १ महिना १६ दिन मात्र वाँकी रहँदा पनि राजपा चुनावमा जाने नजाने वारे कुनै टुंगो लाग्न नसकेको र मतदाता अन्यौलमै रहको वताए

मधेशको समस्य अविलम्व समाधान नगरिए अहिले सानो रुपमा देखिएको विखण्डनकारी र अतिवादी समुह र शक्ति अघि वढ्न खतरा रहेको जिकिर गर्दै उनले संविधान भित्रै अधिकार खोजीरहेका आन्दोलनरत उदारवादी मधेश केन्द्रित दलको जायज माग सम्वोधन गरी सहकार्य गर्दै अघि वढ्नु मुलुकको हितमा रहेको वताए ।

‘विखण्डनकारी र अतिवादी सोच भएका समुहलाई निरुत्साहित वनाउन पनि संविधान भित्रै अधिकार र पहिचान खोजीरहेका उदारवादी राजपालाई चुनावमा ल्याउनु पर्छ’– उनले भने ।

तीन ठुला दलको सत्तालिप्सा, अकर्मण्यता र राजनैतिक स्वार्थका कारण मधेशमा विदण्डनकारीको जन्म भएको दावी गरेका उनले यसलाई रोक्न समयमै उचित निर्णय लिनु मुलुकको हितमा हुने वताए । उनले मधेशको मागमा आफुहरु पनि सकारात्मक रहेको भन्दै यसअघि राप्रापाले अघि सारेको हिन्द्यु राष्ट्र सम्वन्धि विधेयक विधेयक पनि टेवल गर्नुपर्ने र दुवै प्रस्ताव पारित गर्नु पर्ने आफनो पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् ।

प्रदेश नं. २ मा ९० प्रतिशत हिन्दुवादी रहेकाले अघिल्लो २ चरणको निर्वाचनभन्दा तुलनात्मक रुपमा पार्टीको अवस्थामा सुधार आउने दावी गरेका उनले भने–‘हाम्रो प्रमुख एजेण्डा नै हिन्दुराष्ट्र घोषणा हो, त्यसैले प्रशस्तै हिन्दुवादी रहेको प्रदेशमा पार्टीको पक्षमा उत्साहजनक परिणाम आउनेमा आशावादी छौं ।’

उनले राप्रपा केन्द्र र प्रदेशको चुनाव एकै मितिमा गराउने पक्षमा रहेपनि यसवारे जेजस्तो निर्णय आएपनि स्विकार्य हुने वताए ।