तिन दिन देखि अँध्यारो झेल्दै रुकुमका बासीन्दा

0
Shares

धनवीर दाहाल,रुकुम ।
रुकुम जिल्ला एउटा यस्तो जिल्ला हो । जुन जिल्लाले शान्ति प्रक्रिया पछि प्रभावशाली मन्त्रालय पाउँदै आएको छ । उक्त प्रभावशाली मन्त्रीहरुले जिल्लामा अरु राम्रो काम त गरेका छन् तर रुकुममा बिजुली नियमित बनाउन कहिलै सकेनन् ।

जनार्दन शर्मा शान्ती मन्त्री हुँदा रुकुम उज्यालो कार्यक्रम पनि सञ्चालनमा आयो । जसका कारण रुकुमका गाँउहरुमा बिजुली बल्यो । रुकुम सदरमुकाम खलंगा अन्धकार बन्यो ।

रुकुमबाट जनार्दन शर्मा शान्ति, उर्जा हुँदै अहिले गृह मन्त्री हुनुहुन्छ । शर्मा उर्जा मन्त्री भएकै समयमा रुकुममा केन्द्रीय लाइनको बिस्तार त गरियो तर नियमित भएको छैन । हाल बिगत तिनदिनदेखी बिद्युत सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

केन्द्रिय लाईनको विद्युत सेवा अवरुद्ध बन्दा मुसिकोट सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रमा बत्ति बल्न छोडेको तीन दिन पुरा भएको छ । अनियमित रुपमा कहिलेकाँहि मात्र आउने बिद्युत सेवा लगातार तीन दिन सम्म पनि नआउँदा अहिले सदरमुकाम मुसिकोट अन्धकारमय बन्न पुगेको छ ।

अबरुद्ध बिद्युत सेवाका कारण सदरमुकाम खलंगामा रहेका कलकारखाना, संचार माध्यम तथा विभिन्न कार्यालयहरुको दैनिक कामकाजमा समेत ठूलो समस्या पर्न गएको छ ।

उपभोक्ताले नियमित रुपमा बत्ति बाल्न नपाउँदा र लगातार तीन दिन सम्मको अंध्यारोमा बस्नुपर्ने बाध्यताले यतिबेला मुसिकोट बासीमा चिन्ता थपिएको छ । तर, नेपाल बिद्युत प्राधिकरण रुकुम वितरण केन्द्रले भने प्राविधिक समस्याका कारण विद्युत सेवा अवरुद्ध हुन गएको जानकारी दिएको छ ।

त्यस्तै मौसममा आएको समस्या र लामो दूरीका कारण पनि विद्युतमा थप समस्या देखिने गरेको वितरण केन्द्रको भनाई छ । वितरण केन्द्रका अनुसार अवरुद्ध बिद्युत सेवा नियमित हुन अझै केही दिन लाग्ने बताईएको छ ।

रुकुममा समेत केन्द्रिय लाईनको बिद्युत सेवा जडान गरिए पछि आम रुकुमबासीमा बत्ति बाल्न पाईने आशामा खुशी छाएको थियो । तर, अहिले त्यो सबै रुकुमबासीको खुशी केन्द्रिय लाईनको बिद्युतले खोसिदिएको यहाँका स्थानीहरु बताउँछन् । कतिपय स्थानीय बासीहरु भने केन्द्रिय लाईनको बिद्युतलाई रोकेर तत्काल यसअघिको स्पार्पू जलबिद्युतको बिद्युत सेवा नै जडान गर्नुपर्ने बताउँछन् ।

नेपाल बिद्युत प्राधिकरणको ३३ केभिए क्षमता भएको बिद्युत सेवा रुकुम वितरण केन्द्रबाट नै वितरण गरिने बताईएपनि हाल ११ केभिए सम्म क्षमता भएको बिद्युत सेवा वितरण गरिएको छ ।

११ केभिएको बिद्युत सेवाको क्षमता पनि एकदम कम भएकाले यहाँका स्थानीयहरु केन्द्रिय लाईनको बिद्युत सेवाबाट सन्तुष्ट भने छैनन् ।