आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार शुरु

0
Shares

नेपाल समाचारपत्र,ललितपुर
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले नेपालमै पहिलोपटक क्यान्सरका कारण आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार शुरु गरेको छ ।

विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. दिपक यादव नेतृत्वको टोलीले ‘ऊँ’ नामक यन्त्रद्वारा कृत्रिम आवाज प्रत्यारोपण सुरु गरेको अस्पताले ललितपुरको हरिसिद्धिमा आयोजना गरेको कार्यक्रममा जानकारी दिइयो ।

सो यन्त्र क्यान्सर रोग विशेषज्ञ डा. विशाल रावले निर्माण गर्नुभएको हो ।
ऊँ नामक यन्त्र एउटा प्रविधि हो । संस्कृत शब्दको पहिलो अक्षर ऊँबाट नाम राखिएको यो यन्त्र जडान पश्चात यसले अन्न नलीलाई आवाज यन्त्रको रुपमा परिणत गर्छ ।

यो सर्वसुलभ हुनुका साथै सस्तो रहेको बताइएको छ । विदेशमा यस्ता यन्त्रको मूल्य ५ सय डलरदेखि ५ हजार डलरसम्म पर्ने चिकित्सकहरु बताउँछन् ।

अस्पतालले ट्रेयाकियोसोफेजल पन्चर (टिपिए) विधिद्वारा नेपालमै पहिलोपटक ६० र ५५ वर्षीय दुई जना पुरुषमा यन्त्र प्रत्यारोपण गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठले यस यन्त्र प्रत्यारोपण पछि विरामीहरु बोल्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

डा. श्रेष्ठका अनुसार नेपालमा बढीमा एक सयदेखि दुई सय रुपैयाँ मूल्य पर्ने यस यन्त्र प्रत्यारोपण पश्चात कसैले पनि आवाज विहीन हुननपर्ने भएको छ ।
‘क्यान्सरका कारण आवाजविहीन हुन पुगेका विरामीहरुलाई सस्तो तथा सुलभ यन्त्रमार्फत आवाज फर्काउन सकियोस् भन्ने उद्देश्यले यो सेवा शुरु गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा आउने कुल विरामीमध्य टाउको तथा घाँटीको क्यान्सरका विरामी करिब ७ प्रतिशत रहने गरेका छन् । त्यसैगरी, सुर्ती तथा सुर्तीजन्य पदार्थका कारण ८० प्रतिशत मानिसमा टाउको तथा घाँटीको क्यान्सरको सम्भावना रहने गरेको डा. श्रेष्ठले बताउनुभयो ।

‘तर निम्न आयस्तर भएकाहरुले पनि यसको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले यसको आविष्कार गरेको हुँ,’ डा. रावले भन्नुभयो ‘मैले के देखेको छु भने यहाँ पैसाकै कारण विरामीहरुले आफ्नो उपचार आधामै छोड्नु पर्ने बाध्यता छ । यसैलाई कम गर्न र मानिसहरुलाई सर्वसुलभ उपचारका लागि यसको आविष्कार गरेको हुँ ।’

सुर्ती तथा सुर्तीजन्य पदार्थका कारण घाँटीका क्यान्सर भएका विरामीहरुले उपचार पश्चात आवाजको नली गुमाउनु पर्छ । अर्थात उनीहरुको आवाज हराएर जान्छ । यस उपचार पद्धतिबाट क्यान्सरका रोगीहरुको घाँटीमा यो यन्त्र जडान गरिन्छ जसले आवाज नलीले झैं काम गर्ने छ । डा. रावले भन्नुभयो ।