वैद्य निकट क्रान्तिकारी विद्यार्थी संगठनद्वारा मोर्गन कलेजमा तोडफोड

0
Shares

नेपाल समाचारपत्र,काठमाडौ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले काठमाडौं वसुन्धारास्थित मोर्गन इन्जियिरिङ कलेजमा आज तोडफोड गरेको छ ।

कलेजमा इन्जिनियरिङ अध्ययन अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधार विना नयाँ भर्ना लिन सुरु गरेपछि आफूहरु कारबाहीमा उत्रिन वाध्य हुनुपरेको अखिल क्रान्तिकारीले बताएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको सो कलेजमा विद्यार्थीहरुका लागि भौतिक पूर्वाधार तयार गर्नका लागि पटक पटक ध्यानाकर्षण गराइएको तथा विश्व विद्यालयले समेत भौतिक पूर्वाधार निर्माणका लागि निर्देशन दिएपनि कलेजले अटेर गरेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष सेवन्तराज भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

इन्जिनियरिङ पढाउनका लागि सो कलेजमा आवश्यक भवन, ल्याव प्रयोगात्मक अभ्यास गर्ने फिल्डलगायतको पूर्वाधार तयार गरेर मात्रै नयाँ भर्ना लिन क्रान्तिकारीले माग गर्दै आएको थियो ।

यद्यपि मागको सुनुवाई नै नगरी नयाँ भर्ना प्रक्रिया सुरु गरेपछि आफूहरु भौतिक कारबाहीमा उत्रिएको र आगामी दिनमा पनि भौतिक पूर्वाधार निर्माणका ध्यान नदिइएमा थप संघर्षमा उत्रिने र त्यसको जिम्मेवार क्याम्पस नै हुने सो संगठनले चेतावनी दिएको छ ।

भएका सहमति कार्यान्वयन नभएकाले आन्दोलन गर्न बाध्य भएको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष भण्डारीले बताउनुभयो ।