साझा प्रकाशनमा शृंखलाबद्ध अनियमितता


 

ईश्वरराज ढकाल, काठमाडौं

साझा प्रकाशनमा एकपछि अर्को अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन्। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको छ। स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका नयाँ कर्मचारीको आडमा उनले मनपरी गर्न थालेका हुन्। यहाँसम्म कि आफू संलग्न रहेको अल्पाइन पब्लिकेसनको प्रेस ल्याएर स्थापना गर्दै सबैलाई झुक्याउन सफल भएका छन्। छापाखानाभित्र विना टेन्डर प्रेस ल्याएर राखिएको छ। सात सदस्यीय सञ्चालक समितिको निर्णयबिना नै जनकको पाठइ्पुस्तक छपाइ गर्न भन्दै अल्पाइनबाट थोत्रो वेब प्रेस मेसिन ल्याएर राखिएको हो। गत फागुनमा कसैलाई जानकारी नै नदिई मेसिन राखेका अध्यक्षले सबै सञ्चालकलाई पंगु बनाएका छन्। उनले सो प्रेसबाट जनकको किताब छपाइ गरी आफैले कमिसन लिएका थिए।

‘यो त एउटा नमुना मात्रै हो यस्ता अनियमितता र नियमविपरीत दर्जनौं काम गरेका छन्।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

त्यसैगरी कार्यालयमा कार्यरत स्थायी कर्मचारीलाई मनपरी रुपमा हटाएर करिब ८४ जना नयाँ कर्मचारी भर्ती गरेका छन्। ‘४२ जना कर्मचारीको विज्ञापन गरेर थप ४२ जना कर्मचारी मनपरी नियुक्ति गरेका हुन्। साझामा करिब ७० जना कर्मचारी कार्यरत छन्। यतिसम्म कि सहायक तृतीय तहमा दरबन्दीभन्दा ७ जना बढी कर्मचारी नियुक्त गरेका छन्। उनलाई कानुनले केही गर्दैन।’ –उनको पछिल्लो गतिविधि देखेर अहिले कर्मचारीले भन्ने गरेका छन्। सञ्चालक समितिलाई हात लिन सफल शर्माले सञ्चालकलाई रिझाउन सबैका आफ्नालाई नियुक्त गरेको स्रोतको दाबी छ।

सञ्चालक समितिमा अध्यक्ष रहेका शर्माले एमाले नेता प्रदीप नेपाल, माओवादी केन्द्रका दीनानाथ शर्मा, साहित्यकार कृष्णहरि बराल, विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाललाई फन्दामा पारेर विभिन्न निर्णय गर्ने गरेका छन्। सञ्चालक समितिको बैठकमा एउटा निर्णय गराउने तर पछि अर्को थपेर नया निर्णय गराउने गरेको खुलासा भएको छ। अहिले मनपरी गरेको जानकारी हुन थालेपछि सञ्चालकले बैठक सकिएपछि माइन्युट गरेर निर्णय सुनेपछि मात्रै बैठक सम्पन्न गर्ने गरेका छन्। बैठकमा समेत आमन्त्रीतको नाममा मनपरी व्यक्ति बोलाउने गरेको स्रोतको भनाइ रहेको छ। कहिले त्रिविको नेपाली विभागको प्रमुख त कहिले पाठ्यक्रम विकास केन्द्रका प्रमुखलाई बैठकमा डाकिन्छ। कहिले शिक्षा विभागका महानिर्देशक कहिले त्रिविको अंग्रेजी विभागका प्रमुखलाई समेत आमन्त्रित सदस्यको रूपमा बोलाउने गरिएको छ। यतिसम्म कि कानुनविद् हरि उप्रेतीलाई समेत बैठकमा बोलाइएकोमा उनले आग्रह अस्वीकार गरेको बुझिएको छ। सबैलाई साथमा लिन आमन्त्रितको रूपमा भीडभाड गराइन्छ’ –स्रोतले भन्यो। सात सदस्यीय सञ्चालक समिति मात्रै वैधानिक हुन्छ। मनपरी आमन्त्रितको रूपमा बोलाएर गरिएको बैठकले गरेको निर्णय वैधानिक हुने वा नहुने भन्ने विषयमा गम्भीर प्र्रश्न उठेको छ।

त्यति मात्रै होइन साझाले कुनै पनि प्रक्रिया पूरा नगरी सामान खरिद गर्ने गरेको खुलेको छ। कुनै पनि सामग्री खरिद गर्नुपर्दा कर्मचारीले माग गर्ने, सिफारिस गर्ने, त्यसपछि स्वीकृत गरी खरिद गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ तर अध्यक्ष शर्माले आफूखुसी सामग्री खरिद गर्ने गरेको खुलेको छ। साढे २ वर्षदेखि अध्यक्ष एवं महाप्रबन्धकको भूमिकामा रहेका शर्माको कार्यकालमा निजीले पाठ्यपुस्तक छपाई दिने भने तापनि हालसम्म दिएका छैनन्। तत्कालीन उच्च माध्यामिक शिक्षा परिषद्सँग सम्झौता भएको सबैको नेपाली पुस्तकका लाखौं रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेका शर्माले ‘एक चिहान’ पुस्तक छपाई गरेर बजार पठाए पनि त्यसमा एकमात्रै अधिकार प्रदायक संस्था साझा प्रकाशनको लोगो नै छैन।

त्यसमा पनि लाखौं रुपियाँ भ्रष्टाचार भएको आशंका गरिएको छ। कैयौं सहित्यकारको पुस्तक छपाई गर्ने सम्झौता हुन्छ। लोगो साझाकै हुन्छ तर कहाँबाट छापिन्छ जानकारी नै हँुदैन’ –एक कर्मचारीको भनाइ थियो। पछिल्लो समय पार्टीका नेताको चाकडी गर्न माहिर रहेका अध्यक्ष डोलेन्द्रले साझा प्रकाशनलाई डुबाउन खोजेको कर्मचारीको आरोप छ। साहित्यकारको सम्मान गर्नुपर्छ भन्ने वकालत गर्दै हिँड्ने अध्यक्ष शर्माको पछिल्लो क्रियाकलाप देखेर सञ्चालक समितिसमेत दिक्क भइसकेको कर्मचारीहरु बताउँछन्।

उता अध्यक्ष शर्माले नेपाल समाचारपत्रसँगको कुराकानीमा आफूमाथि लागेका आरोप आधारहीन भएको जिकीर गरेका छन्। उनले भने– ‘साझाले प्रगति गर्न थालेपछि डाह गर्न थालेका हुन्।’ उनले आफूले ११ वर्षदेखि हुन नसकेको लेखा परीक्षण गर्नकै लागि ठूलो संख्यामा कर्मचारी भर्ती गरेको स्वीकार्दै भने– ‘भदौमा अडिट रिपोर्टको प्रतिवेदन प्राप्त भएपछि ती कर्मचारी हटाउनेछौं। तर साझामा कार्यरत अधिकांश नयाँ कर्मचारीलाई अडिटबाहेकको काम लगाइएको छ।’

जनक शिक्षाले वेब मेसिन भाडामा लिएर सञ्चालन गर्न हुने अनि मैले अल्पाइनबाट रकम नै नलिई मेसिन राख्न नहुने ? सबै प्रगति देख्न नसकेर आतिएका कर्मचारी र अन्यको आरोप हो। उनले आफै सञ्चालक रहेको अल्पाइनबाट वेब मेसिन ल्याएर साझामा स्थापना गरेको स्वीकारेका छन्। आफूले छनौट गरेका ६९ जना कर्मचारी नियमअनुसार भएको दाबी गर्दै आफूले गलत गरेको भए कारबाहीको भोगी हुन तयार रहेको स्पष्ट पारे। सञ्चालक समितिका सदस्य एवं पूर्वमन्त्री प्रदीप नेपालले अध्यक्षले गरेको काम सही भएको विश्लेषण गर्दै अडिटको लागि कर्मचारी भर्ति गरेको स्वीकारे।

माइन्युटमा जस्ताको तस्तै निर्णयमा हस्ताक्षर गर्ने गरेको र साझाले छपाई गर्न नसकेका पुस्तक अन्य प्रेसबाट छपाई गरी साझा प्रकाशनमा ल्याउने गरेको बताए। नयाँ नियुक्ति भएका कर्मचारीलाई भदौ वा असोजबाट बिदा दिने भनिएको छ, अडिट भएपछि ती कर्मचारी बिदा हुनेछन्। डोलिन्द्रको निर्णयप्रति सन्तुष्ट रहेको बताउने नेपालले कृति बढी छपाई हुन थालेपछि केही बुक बाइन्डरसमेत थप गरेको जिकीर गरे।