तीन जना नेपालीलाई १ बुक तास


 

हेमन्त जोशी, काठमाडौं

नेपालमा प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो। तर विभिन्न चाडपर्व विशेष गरी दशैं, तिहार, साथीभाइसँगको जमघट, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ। के तपाई हामीलाई प्रत्येक ३ जना नेपालीले औसतमा १ बुक तास प्रयोग गरिरहेका छौं भनेर थाहा छ?

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत आर्थिक वर्षमा १४ करोड ६५ लाख ६२ हजार रुपियाँ बराबरको १ करोड १५ लाख ९७ हजार बुक तास वार्षिक रुपमा आयात हुने गरेको छ। उक्त तथ्यांकलाई आधार मान्दा वार्षिक रुपमा औसत ३ जना व्यक्तिले १ बुक तास प्रयोग गरिरहेका छन्।

कोही रमाइलोका लागि तास खेल्छन् भने कोही बानीका रुपमा आफ्नो जीवनभरको कमाइ दाउमा लगाइरहका हुन्छन्। केही व्यक्तिले तास खेलेर आफ्नो सर्वस्व नै गुमाएको पनि हामीले समाचार पढ्दै र सुन्दै आएका छौं। तर हामीमध्ये थोरैलाई मात्र हेक्का छ कि तासबाट नै हाम्रो वार्षिक रुपमा करोडौं रुपियाँ विदेशिने गरेको छ। नेपालले चीन, भारत, मलेसिया, ताइवान, बेलायत र अमेरिकालगायत मुलुकबाट आयात गरिएका तास प्रयोग गरिरहेको छ। नेपालमा तास सबैभन्दा धेरै चीनबाट आयात हुन्छ। भन्सार विभागको गत आर्थिक वर्षको तथ्यांकमा चीनबाट मात्र १२ करोड ६१ लाख ५० हजार रुपियाँ बराबरको १ करोड ११ लाख ३ हजार बुक तास नेपाल भित्रिएको छ। त्यस्तै, अमेरिकाबाट गत आर्थिक वर्षमा १ करोड २८ लाख ५३ हजार रुपियाँ बराबरको ३ लाख ५४ हजार ५ सय ४५ बुक तास आयात भएको छ।

गत आर्थिक वर्षमा आयातित तासमार्फत ५ करोड ५३ लाख ७ हजार रुपियाँ राजस्व संकलन भएको छ। त्यस्तै, आर्थिक वर्ष २०७२⁄७३ मा १८ करोड ७० लाख ४१ हजार रुपियाँ बराबरको १ करोड ४४ लाख ९ हजार ६ सय बुक तास आयात भएको थियो भने सोमार्फत ६ करोड ६५ लाख ९ हजार रुपियाँ राजस्व संकलन भएको थियो।

तास खेल्ने खेलाउनेलाई जुवा ऐन २०२०, जुवा वा सट्टाबाजी खेल्ने वा खेलाउने कार्य नियन्त्रण गर्न बनेको विधेयक २०७० ले कानुनी कारबाहीको समेत व्यवस्था गरेको छ भने उक्त कार्य गैरकानुनी र सामाजिक अपराध हो। ऐनले जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै आधारमा बाजी थापी खेलेको खेल भन्ने सम्झनुपर्दछ भनी व्याख्या गरेको छ।

तर अहिले मोबाइल एप्लिकेसनका रूपमा एक जना व्यक्तिले मात्रै पनि तासका विभिन्न खेलहरु खेल्न सकिन्छ।